भरतपुर क्यान्सर अस्पतालमा सघन उपचार कक्षसहित १४० श्ययाको कोभिड वार्ड शुरु

Photo - kalikanews.com
Photo - kalikanews.com

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सघन उपचार कक्षसहित १४० श्ययाको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ।

जिल्लामा सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याएको हो। क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० श्ययाको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी श्यया थप गरेको हो।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शनिबारदेखि कोभिड वार्ड सञ्चालन गरिएको छ।

वार्डमा अहिले २४ सङ्क्रमितको उपचार भइरहेको छ। कोभिड वार्डमा दुई भेन्टिलेटर आठ मनिटरसहितको सघन उपचार कक्ष सरहको सुविधा रहेको डा गौतमले जानकारी दिए।

उनका अनुसार भेन्टिलेटर र सघन उपचार कक्षको सङ्ख्या बढाउँदै लगिनेछ। कोभिड वार्डमा अक्सिजनको पाइपलाइन रहेका छन्।

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भएकाले ठूलो समस्या नपर्ने अनुमान गरिएको छ। बिरामीको सङ्ख्या बढ्दै जाँदा र धेरै अक्सिजन चाहिने सङ्क्रमित आएमा भने अस्पतालको प्लान्टले नधान्ने उनको भनाइ छ।

प्रदेश, सङ्घीय सरकार र दातासँग भेन्टिलेटरलगायतका उपकरण माग गरेको डा गौतमले जानकारी दिए। उनले भने, 'वार्डलाई सकेसम्म सुविधा सम्पन्न बनाइने छ।'

जिल्लामा सङ्क्रमित बढ्दै गएपछि क्यान्सर अस्पतालले कोभिडको उपचार शुरु गरेको हो। यस जिल्लाका भन्दा धेरै बिरामी बाहिरबाट आएका छन्।

४५० श्ययाको क्यान्सर अस्पतालमा हाल १७० जना क्यान्सरका बिरामी उपचाररत छन्। कोभिड वार्ड सञ्चालनमा आए पनि क्यान्सरका बिरामीको उपचार भने नरोकिने उनको भनाइ छ।

यस अस्पतालमा क्यान्सर रोगको उपचारका लागि देशभरबाट बिरामी आउने गर्दछन्। अन्य समयमा भारतका सीमा क्षेत्रबाट समेत यहाँ बिरामी आउने गरेका थिए। चीन सरकारको सहयोगमा सो अस्पताल निर्माण भएको हो। रासस

प्रकाशित मिति: : 2021-05-16 13:01:00

प्रतिकृया दिनुहोस्