एमाले एकतामा पूर्वमाओवादी नेताहरुको व्यवस्थापन कति सहज ?

अनलाइनखबर

काठमाडाैं

दुई अलग संगठनात्मक संरचनामा चलिरहेको नेकपा एमालेलाई एउटै बनाउन आइतबार दश सदस्यीय कार्यदल बनेको छ। अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बीच सिंहदरबारमा भएको ‘वान अन वान’ छलफलबाट दुवै तर्फका पाँच/पाँच जना रहनेगरी कार्यदल बनाइएको छ।

कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल तर्फबाट भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र रघुजी पन्त छन्। ओलीसँग यसअघि भएका वार्तामा सहभागी नेताहरूलाई नै नेता नेपालले कार्यदलमा राखेका छन्। शुक्रबार पनि ओली पक्षसँग यिनै नेताहरू सहित नेपाल वार्तामा बसेका थिए।

तर, ओलीले त्यसदिनको वार्तामा सहभागी नभएका प्रदीप ज्ञवाली र शंकर पोखरेललाई समेटेर रामबहादुर थापा (बादल) राखेनन्। शुक्रवार बादल र अर्का नेता ईश्वर पोखरेल पनि सहभागी थिए। अर्थात् बादल नरहेपछि यो कार्यदलमा २ जेठ २०७५ अगाडिका एमाले नेताहरू मात्रै सदस्य रहे। यो हेरफेरलाई चासोका साथ हेरिएको छ।

तर सार्वजनिक रूपमा भने दुवै पक्षका नेताहरू यसबारे बाल्न चाहदैनन्। ‘यो ठूलो महत्वको कुरा होइन। पार्टी एकता बचाउन जरूरी छ। कार्यदलमा रहेका साथीहरुले सबै नेताहरुको परामर्श लिएरै उपयुक्त प्रस्ताव ल्याउने हो’, ओली तर्फका एक नेता भन्छन्। २३ फागुन यताका घटनाक्रम हेर्ने हो भने चाहिँ बादल सहित माओवादी पृष्ठभूमिका नेताहरू पुनर्स्थापित एमालेको कलहको एक महत्वपूर्ण ‘फ्याक्टर’ रहेको लुक्दैन।

प्रकाशित मिति: : 2021-05-17 10:22:00

प्रतिकृया दिनुहोस्