जिल्लामा कोभिड१९ को सङ्क्रमण बढेसँगै स्थानीय पालिकाहरुले टोलटोलमा पुगेर सङ्क्रमितको स्वाब सङ्कलन गरेर परीक्षणको लागि जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाए पनि त्यसको रिपोर्ट आउन ढिलो हुँदा जोखिम झनै बढेर गएको हो।
स्वाब सङ्कलन गरी पठाएको १०/१२ दिनसम्म पनि रिपोर्ट नआउँदा सङ्क्रमितको परिवारमा समेत समस्या हुने गरेको छ भने यसले अन्य उपचारमा समेत अन्योलको साथै थप त्रास सिर्जना गरेको छ।
स्वाब सङ्कलन गरिएकाको रिपोर्ट नआउादै मृत्यु हुने र केही बिरामीको रिपोर्ट आउनुभन्दा अगाडि नै ठीक भएका घटनाले सङ्क्रमण नियन्त्रण गर्नमा थप चुनौती थपिएको पाइन्छ।
जिल्ला सदरमुकामदेखि टाढाको दूरीमा रहेका हरिनास र कालीगण्डकी गाउँपालिका तथा चापाकोट नगरपालिकामा स्वाबको रिपोर्ट आउन लामो समय लाग्दा थप समस्या भएको पालिका प्रमुखहरुको भनाइ छ।
कालीण्डकी गाउँपालिका प्रमुख खिमबहादुर थापाले लामो समयसम्म स्वाबको रिपोर्ट नआउँदा आफूहरुलाई व्यवस्थापनमा समस्या भएको बताए।
थापाले भने, 'गाउँगाउँमा पुगेर स्वाब सङ्कलन गरेर पठायो, लामो समयसम्म रिपोर्ट आउँदैन, त्यसअवधिमा मानिसहरु हिँडडुल गर्दा सङ्क्रमण बढ्ने जोखिम रहेको छ।'
हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरको पनि भनाइ उस्तै छ। स्वाब परीक्षणको लागि पठाएका व्यक्तिको रिपोर्ट नआउँदै मृत्यु भएको अवस्थामा दाहसंस्कार गर्न समेत समस्या हुने गरेको उनी बताउँछन्।
जिल्लामा मङ्गलबारसम्म कुल एक हजार १८५ जना सङ्क्रमित भएका छन् भने १११ जना निको भएर घर फर्किएका छन्। मृत्यु हुनेहरुको सङ्ख्या ५२ पुगेको छ भने विभिन्न अस्पतालमा ३५ पुरुष र १७ महिला गरी ५२ जनाको उपचार भइरहेको छ।
जिल्लामा ३१७ आइसोलेसन शय्या र १९९ अक्सिजन सिलिण्डर रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
होम आइसोलेसनमा ४७३ महिला र ४५९ पुरुष रहेका छन् भने आइसोलेसन केन्द्रमा आठ महिला र २९ पुरुषको उपचार भइरहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी मित्रप्रसाद अर्यालले जानकारी दिए।रासस