लकडाउनपछि नेपाल फर्केकी मोडल क्रिस्टिनाले सुरू गरिन् 'फुडगञ्ज'

सेतोपाटी

काठमाडौं

यतिबेला हामी घरभित्र बस्न बाध्य छौं। कोरोना संक्रमणबाट बच्न यो जरुरी पनि छ। तर भित्रै थुनिएर रासन दैलो र भान्सासम्म कसरी आइपुग्ला?

यस्तो अवस्थामा सरसामान र खाना डेलिभरी कम्पनीले हाम्रो दैनिकी सहज बनाएका छन्। तिनैमध्ये काठमाडौं उपत्यकाभित्र 'फुडगञ्ज'ले पनि सेवा पुर्‍याउँदै आएको छ। फुडगञ्ज खाना तथा सामग्री डेलिभरी कम्पनी हो। 

'अहिलेको अवस्थामा घरमै सामग्री पुग्छ भने बाहिर किन निस्किनु भन्ने मानसिकता बढेको छ। विशेषगरी खाद्यान्न भान्सासम्म पुग्दा ग्राहक खुसी हुन्छन्,' फुडगञ्जकी प्रमुख कार्यकारी निर्देशक क्रिस्टिना थापाले भनिन्, 'हामी यतिबेला किराना सामग्री र फ्रोजन खाना डेलिभरी गरिरहेका छौं।'

फुडगञ्ज सञ्चालनमा आएको धेरै भएको छैन। गत वर्ष कात्तिकदेखि यसले आफ्नो सेवा सुरू गरेको हो। तर छोटो समयमै ग्राहकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको क्रिस्टिना बताउँछिन्। 

निषेधाज्ञा नहुँदो हो त, फुडगञ्जले रेस्टुरेन्टका खाना डेलिभरी गरिरहेको हुन्थ्यो। 

'हाम्रो आफ्नै भान्सा पनि छ। तर अहिले पकाएको खानाभन्दा किराना सामग्रीको माग बढी हुन्छ। त्यसैले पकाइएका खानाको डेलिभरी केही समयका लागि बन्द गरेका हौं,' क्रिस्टिनाले बताइन्। फुडगञ्जको लाजिम्पाट र पुल्चोकमा गरी दुई ठाउँमा भान्साघर छन्। यसको मुख्य कार्यालय भने नक्सालमा छ। 

उनका अनुसार सामान्य दिनमा फुडगञ्जले २० घन्टा सेवा पुर्‍याउँछ। बिहान ७ बजेखि राति ३ बजेसम्म ग्राहकलाई सामग्री र खाना डेलिभरी गर्ने क्रिस्टिनाले जानकारी दिइन्। यतिबेला भने दिनभर सामग्रीको अर्डर लिन्छ र भोलिपल्ट बिहान दस बजेभित्र डेलिभरी गरिदिन्छ।

प्रकाशित मिति: : 2021-05-23 09:33:00

प्रतिकृया दिनुहोस्