निषेधाज्ञा उल्लङ्घन रोक्न खोज्दा  प्रहरीमाथि आक्रमण, डिएसपीसहित चार  घाइते

विराटनगरमा निषेधाज्ञाको उल्लङ्घन रोक्नका लागि परिचालन भएको प्रहरी टोलीमाथि आक्रमण भएको छ।

पसल बन्द गरेर निषेधाज्ञाको पालना गर्न आग्रह गरिरहेको टोलीमाथि विराटनगर महानगरपालिका–१ पुष्पलाल चोकमा शनिबार साँझ ७ बजे  डिएसपी मानबहादुर राई नेतृत्वको टोलीमाथि आक्रमण भएको हो।

आक्रमणबाट चार जना प्रहरीलाई चोटपटक लागेको छ । बाँस र भाटाले आक्रमण गर्दा डिएसपी राईसहितका प्रहरीको पाखुरा र शरीरका भागमा सामान्य चोट लागेको हो। प्रहरीमाथि उत्रिएको समूहले डिएसपी राईका अङ्गरक्षक प्रहरी जवान रामबहादुर तामाङले लगाएको पोसाक पनि च्यातिदिएको छ।

प्रहरीले आक्रमणमा सङ्लग्नमध्ये पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर–१ की ४० वर्षीया आशा साह, १८ वर्षीया मेनुका साह, २२ वर्षीया अञ्जना साह, १९ वर्षीया उषा साह र अजय साह छन्। पक्राउ परेकाहरुमाथि आवश्यक कारबाही अघि बढाउन अनुसन्धान थालिएको प्रहरीले बताएको छ।
 

प्रकाशित मिति: : 2021-05-23 17:39:00

प्रतिकृया दिनुहोस्