तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्थापना गर्न लागेको पिसिआर प्रयोगशालाका लागि गण्डकी प्रदेश सरकारले रु ५० लाख सहयोग गरेको छ।
पिसिआर रिपोर्ट आउन ढिलाई भएपछि नगरपालिकाले व्यास–१० दुम्सीमा स्थापना गर्न लागेको प्रयोगशालाका लागि प्रदेश सरकारले रु ५० लाख सहयोग गर्ने निर्णय गरेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले प्रदेश सरकारबाट नगरपालिकाको अभियानमा सहयोग भएको जानकारी दिए।
यसअघि सङ्घीय सरकारको तर्फबाट पनि पिसिआर प्रयोगशालाका लागि रु २५ लाख बजेट विनियोजन भइसकेको छ। प्रयोगशालाका लागि नगरपालिकाका जनप्रतिनिधिले पनि एक महिना बापतको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिसकेका छन्।
आन्तरिक मूल्याङ्कनबाट नतिजा
कोरोना कहरका कारण यस वर्षको परीक्षा सञ्चालन हुन नसकेपछि नगरपालिकाले आन्तरिक मूल्याङ्कनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्ने भएको छ। शैक्षिक शत्र २०७७ को वार्षिक परीक्षा सञ्चालन हुन नसकेपछि नगरपालिकाले मूल्याङ्कनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्न लागेको हो।
विद्यालयमा उपस्थित भई परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले अघिल्ला चरणहरुमा सञ्चालन गरिएका प्रथम र द्वितीय त्रैमासिक मूल्याङ्कनबाट क्रमशः २० र ६० प्रतिशत अङ्कलाई आधार मानी बाँकी २० प्रतिशतको अङ्कका लागि प्रत्यक्ष भौतिक उपस्थिति बाहेकका वैकल्पिक परीक्षाका माध्यमबाट १० प्रतिशत र विद्यार्थीका निरन्तर मूल्याङ्कनका विविध अभिलेखहरुबाट १० प्रतिशत गरी कूल एक सय प्रतिशत अङ्कका आधारमा वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिने शिक्षा अधिकारी उपसचिव नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए।
उनका अनुसार वार्षिक परीक्षा र नतिजा प्रकाशन गर्दा जेठ १४ गतेसम्म विद्यालयले भौतिक उपस्थिति बाहेकको वैकल्पिक मूल्याङ्कनको आन्तरिक तयारी गरी विद्यार्थीलाई जानकारी गराउने र जेठ १५ गतेदेखि २५ गतेसम्मका परीक्षाका विधिहरु अवलम्बन गर्ने निर्णय गरिएको छ।
विद्यार्थीहरुको मूल्याङ्कन अभिलेखको आधारमा जेठ २८ गते सबै विद्यालयले कक्षा ८ बाहेक बालविकासदेखि ९ सम्मको नतिजा विद्यालय प्रशासनबाट प्रमाणित गरी सार्वजनिकीकरण गर्ने र विद्यार्थी तथा अभिभावकलाई सामाजिक सञ्जाल तथा टेलिफोन मार्फत् नतिजा जानकारी गराउनेछन्।
नगरपालिकाले शैक्षिक शत्र २०७८ को लागि विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान कार्यक्रम असार १ गतेदेखि शिक्षक, विद्यार्थी र अभिभावकको प्रत्यक्ष भौतिक उपस्थिति बिना विविध वैकल्पिक माध्यमको प्रयोग गरी सञ्चालन गर्ने रेग्मीले जानकारी दिए। रासस