कञ्चनपुरमा कोरोनाबाट स्वास्थ्यकर्मीको निधन, नगरपालिकामा शोक विदा

Symbolic photo
Symbolic photo

बेदकोट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत नर्सिङ निरीक्षक सरस्वती कार्कीको कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा निधन भएको छ।

कार्कीको निधन पछि नगरपालिका आज शोक विदा दिईएको छ। नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरूमा शोक विदा दिईएको छ।

कार्कीको बुधबार राति बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।

नगरपालिकाका कार्यरत राष्ट्रसेवक कर्मचारी कार्कीको असामयिक निधनले स्तब्ध र दुखित भएको नगर प्रमुख असोक चन्दले बताए। नगरपालिकाले एक इमान्दार, असल कर्तव्यनिष्ठ राष्ट्र सेवक गुमाएको उनले बताए।

कोरोनाका बिरामीका लागि स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापनको कार्यमा निरन्तर खटिएकी उनलाई वैशाख १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

कोरोनाको सङ्क्रमण भएपछि होम आइसोलेशन बस्दै आएकी कार्कीको स्वास्थ्य अबस्था जटिल बनेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको थियो।

कोरोनाको दोस्रो लहरमा निधन हुने उनी पहिलो स्वाथ्यकर्मी हुन्। कार्की भीमदत्त नगरपालिका–६ ऐठपुरका स्थायी बासिन्दा हुन्।रासस

प्रकाशित मिति: : 2021-05-27 19:14:00

प्रतिकृया दिनुहोस्