थुलुङमा विद्यार्थी मूल्याङ्कन निर्देशिका

बिएल संवाददाता

सोलुखुम्बु
Symbolic photo
Symbolic photo

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले विषम परिस्थितिमा कक्षोन्नतीका लागी विद्यार्थी मूल्याङ्कन निर्देशिका २०७८ जारी गरेको छ। 

बिहीबार बसेको गाउँशिक्षा समितिको बैठकले उक्त निर्देशिका स्वीकृत गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए। 

दोस्रो लहरको कोरोना महामारीका कारण शैक्षिक गतिविधि ठप्प हुनका साथै वार्षिक परीक्षा समेत रोकिएको अवस्थामा उक्त निर्देशिका जारी गरिएको गाउँपालिकाले जनाएको छ। 

२०७७ लाई शैक्षिक सुधार वर्ष घोषणा गरेको थुलुङदुधकोशीले कोरोनाको सङ्क्रमणदर बढेसँगै पूर्वनिर्धारित अन्तिम परीक्षा स्थगित गरेको थियो। दिनप्रतिदिन कोरोनाको महामारी बढ्दै गएकाले समग्र शैक्षिक गतिविधिनै अन्योलमा परेको छ। 

परीक्षा सञ्चालन गर्ने विषयमा नेपाल सरकारका विभिन्न तहका निकाय छलफलमा जुटिरहेको बेला थुलुङदुधकोशीले भने विद्यार्थीको शैक्षिक स्तरलाई ध्यान दिदै मूल्याङ्कनमा एकरुपता ल्याउने गरि निर्देशिका जारी गरेको अध्यक्ष राईको भनाई छ। 

विद्यालयले सञ्चालन गरेको परीक्षा, कक्षा सहभागीता, हाजिरी, परियोजना कार्य, अनुशासन र निरन्तर विद्यार्थी मूल्याङ्कनलाई आधार मानेर मूल्याङ्कन गर्ने निर्देशिकामा उल्लेख छ। 

निर्देशिकाअनुसार परीक्षा समिति संयोजक तथा प्रधानाध्यापकको संयोजकत्वमा प्रध्यानाध्यापकले तोकेको शिक्षक, तहगत इन्चार्ज र कक्षा शिक्षक मध्ये कम्तीमा एक महिला शिक्षक सहित २ जना सदस्य रहने गरि मुल्याङ्कन समिति रहने छ, जसको काम, कर्तव्य र अधिकारमा निर्देशिकाले तोकेको अनुसूची अनुसार अभिलेख तयार पार्ने, तयार अभिलेखलाई शिक्षकहरुसंग छलफल गर्ने र प्राप्त सुझावलाई समावेश गर्ने, त्यसपछि समिति संयोजकले व्यवस्थापन समितिलाई प्रतिवेदन बुझाउने रहेको छ। रासस 
 

प्रकाशित मिति: : 2021-05-27 21:15:00

प्रतिकृया दिनुहोस्