कोरोना भाइरस छानविनको अमेरिकी उर्दीपछि चीनको कडा प्रतिक्रिया

अमेरिकाले कोरोना भाइरसको उत्पत्तिलाई लिएर चीनलाई घेर्ने रणनीति बनाएपछि चीनको पहिलो आधिकारीक प्रतिक्रिया बाहिरिएको छ।

नवनियुक्त राष्ट्रपति जो बाइडेनले आफ्नो जाँच एजेन्सीलाई कोरोना भाइरसको उत्पत्तिको विषयमा छानविन गरेर तीन महिनाभित्र रिपोर्ट बुझाउन हालै उर्दी दिएका थिए।

अमेरिकाले पहिलेदेखि नै कोरोनाको भाइरस चीनको उहान शहरको एउटा ल्याबमा निर्माण गरेको आरोप लगाउँदै आएको छ।

चिनियाँ विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपतिको निर्देशनको विषयलाई लिएर दिएको प्रतिक्रिया यस प्रकार रहेको छ– अमेरिका वास्तविकतालाई झुटको संज्ञा दिन सक्दैन। हामीलाई कुनै पनि जाँचप्रति मतलब छैन।’

बाइडेनले गत बुधबार राति अमेरिकी जाँच एजेन्सीको नाममा एउटा आदेश जारी गर्दै कोरोनाको उत्पत्तिको विषयमा नयाँ छानविन गर्न उर्दी लगाएका थिए।

अमेरिकी राष्ट्रपतिको आदेशपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘अमेरिकामा केही व्यक्ति वास्तविकता र विज्ञानलाई पुरै खारेज गरिरहेका छन्। उनीहरू महामारीबाट लड्न असफल भएपछि आफ्नो असफलता अरुतर्फ थोपर्न खोज्दैछन्। यो विज्ञानको मात्र अपमान होइन, महामारीबाट बच्न विश्व एकजुट हुनुपर्ने काममा पनि व्यवधान हो।’

अमेरिकाले कोरोना भाइरसविरूद्धको अभियानमा विश्व स्वास्थ्य संगठनको भूमिकाप्रति पनि शंका जनाइसकेको छ। उसले यो अभियानमा चीनलाई सहयोग गरेको अमेरिकी बुझाइ छ।

प्रकाशित मिति: : 2021-05-28 17:49:00

प्रतिकृया दिनुहोस्