आठ कैदीबन्दीको कैद मिनाहा

File photo
File photo

गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट आठ कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ। 

अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०७८ का अवसरमा कैद मिनाहा गरिएको हो। 

कैद मिनाहा हुनेमा बहुविवाह मुद्दाका पाँच, ज्यान मार्ने उद्योगका एक, सवारी ज्यान एक, ओखेटो पहार (जीवजन्तुको हाड छालासम्बन्धी) रहेका छन्। कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले गोरखाका एक र तनहुँका सात कैदबन्दीले कैद मिनाहा पाएको बताए।

बहुविवाह मुद्दाका गोरखाका यमु गुरुङ, तनहुँको भानुनगरपालिकाका सुरेन्द्रकुमार श्रेष्ठ र बाबुराम थापा, व्यास नगरपालिकाका करन परियार र शुक्लागण्डकी नगरपालिकाका रमेशबहादुर मल्ल ठकुरी रहेका छन्। 

त्यसैगरी ज्यान मार्ने उद्योगका घिरिङ गाउँपालिका सन्तबहादुर श्रेष्ठ, सवारी ज्यान मुद्दाका बन्दीपुरका दिनेश मक्राती र ओखेटो पहार मुद्दामा म्याग्दे गाउँपालिकाका इन्द्रध्वज कार्की रहेको कारागारका जेलर ऋषिराम सुवेदीले बताए। 

उनका अनुसार  हाल कारागारमा थुनुवा १०६ र कैदी १६२ गरी कूल २६८ कैदीबन्दी छन्। गण्डकी प्रदेशबाट समेत गरी ८० कैदीबन्दीको कैद मिनाहा भएको उनले जानकारी दिए। 

विदेशबाट फर्केर व्यावसायिक बङ्गुरपालन

जिल्लाको देवघाट गाउँपालिका–२ खाल्टे निवासी इन्द्रबहादुर सुनारीले व्यावसायिकरूपमा बङ्गुर पाल्न शुरु गरेका छन्। साउदी अरब र कतारमा लामो समय बिताएका सुनारीले स्वदेश फर्किएपछि बङ्गुर पाल्न शुरु गरेका हुन्। 

गत वैशाख महिनादेखि व्यावसायिकरूपमा बङ्गुर पाल्न थालेको उनले बताए। श्री लाफा पशुपन्छी कृषि तथा बङ्गुर पालन फार्म दर्ता गरी शुरुमा रु चार लाख लगानी गरेर स्वदेशमै बसेर कृषि व्यवसाय शुरु गरेको उनको भनाइ छ। धेरै क्षेत्रको अनुभव बटुल्नुभएका सुनारीले कृषि क्रान्ति गरी गाउँमै स्वरोजगार बन्ने उद्देश्यले व्यवसाय थालेको बताए। 

उहाँको फार्ममा अहिले ल्याडेस, धराने कालो बङ्गुर, दिउरोग गरी सात पाठी र सय प्रतिशत जातको चार वीर पाठा छन्। बङ्गुर पालनसँगै भविष्यमा माछा पालन, बोइलर तथा लोकल कुखुरा पालन गर्ने योजना रहेको उनले बताए। रासस 

प्रकाशित मिति: : 2021-05-31 09:25:00

प्रतिकृया दिनुहोस्