बिरामी र स्वास्थ्यकर्मीलाई निःशुल्क खाना

विभिन्न क्षेत्रमा कार्यरत यहाँका चार समाजसेवीको पहलमा जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत कोभिडका बिरामीलाई एक महिनासम्म निःशुल्क पौष्टिक खानाको व्यवस्थापन गरिएको छ। 

आइसोलेशनमा उपचाररत बिरामीलाई दिनको ३ पटक पौष्टिक आहारको व्यवस्थापन मिलाइएको फुङलिङ नगरपालिका ४ का वडाध्यक्ष जीतेन लिम्बूले जानकारी दिए। 

यस्तै उपचारमा सङ्लग्न स्वास्थ्यकर्मीलाई समेत एक महिनासम्म खानाको व्यवस्थापन मिलाइएको छ। त्यसको लागि अस्पतालको क्यान्टिनसँग सम्झौता भएको लिम्बूले बताए। यसका लागि दुई लाख रुपैँया छुट्याइएको छ। 

यसैबीच जिल्ला अस्पताललाई दुई थान अक्सिजन कन्सनटे«टर, पाँच थान पल्स अक्सिमीटर समेत प्रदान गरिएको छ। खाना र स्वास्थ्य सामग्रीमा चार लाख ६५ हजार खर्च लाग्ने छ। 

विसं २०६१ मा एउटै स्कुलबाट एसएलसी उत्तिर्ण गरेर विभिन्न पेशामा संलग्न रहेका वडाध्यक्ष लिम्बू सहित एनएमबी बैंक शाखा ताप्लेजुङका प्रवन्धक अनिल श्रेष्ठ, कञ्चनजङ्घा निर्माण सेवाका सञ्चालक वीनोद भारती र सिटीजन लाइफ इन्स्योरेन्स कम्पनी शाखा ताप्लेजुङका प्रमुख सन्तोष भट्टराइको पहलमा देश विदेशमा रहेका साथीहरुबाट उक्त कार्यका लागि आवश्यक रकम जुटाइएको हो। रासस 

प्रकाशित मिति: : 2021-05-31 18:18:00

प्रतिकृया दिनुहोस्