दहचोकमा ३ सय ३४ बेडको कोभिड अस्पताल सञ्चालन हुँदै

तस्वीर: रोसन दानी
तस्वीर: रोसन दानी

काठमाडौंको चन्द्रागिरि–१ दहचोकमा तीन सय ३४ बेडको कोभिड अस्पताल सञ्चालनमा आउने भएको छ।

स्वयम्भूस्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालको चन्द्रागिरि १ दहचोकमा नव निर्मित मनमोहन मेमोरियल मेडिकल एण्ड टिचिङ हस्पिटलको भवनलाई सरकारले कोरोना विशेष अस्पतालमा रूपान्तरण गर्ने गृहकार्य समेत थालेको हो।

मंगलबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सञ्चालनमा आउन लागेको कोभिड अस्पतालको निरीक्षण गर्दै आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाए।

स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना संक्रमितको उपचारका लागि अस्पताल सञ्चालनका लागि पूर्वाधारको विकास गर्ने बताए। त्यस्तै उक्त अस्पतालका लागि अक्सिजन प्लान्ट नै राखिने जानकारी दिए।

उनले देशभरका ३८ जिल्ला अस्पतालमा समेत अक्सिजन प्लान्ट राख्न बजेट पठाइसकिएको बताए। मन्त्री त्रिपाठीले भने, 'अस्पताल सञ्चालनका लागि हाई डिपेन्डेन्सी युनिट र आइसियुका लागि आवश्यक प्रबन्ध गर्न म निर्देशन दिन्छु।'

त्यस्तै शिक्षामन्त्री श्रेष्ठले अस्पतालको माग अनुसार आइसियूसहितको बेड तथा भेन्टिलेटर पनि राखिने जानकारी दिए। अस्पताल सञ्चालनका लागि सबै आवश्यक पूर्वाधारको व्यवस्था गरिने उनले बताए।

सरकारले सबै सामग्री उपलब्ध गराए एक साताभित्रै अस्पताल सञ्चालनमा ल्याइने मनमोहन मेमोरियल शिक्षण अस्पतालका कार्यकारी निर्देशन डा. धर्मदत्त सुवेदीले जानकारी दिए।

चन्द्रागिरि १ दहचोकका वडा अध्यक्ष राजेन्द्र केसीले अस्पताल सञ्चालनमा दुवै मन्त्रीहरुले चासो देखाएको प्रति खुशी व्यक्त गरे। अस्पताल सञ्चालनले यो महामारीको युद्धमा ठुलो टेवा पुग्ने उनको भनाई छ।

चन्द्रागिरि नगरपालिकाकाका नगर प्रवक्ता हरिभक्त महर्जनले अस्पतालका लागि आवश्यक पुर्वाधार र जनशक्ति सरकारले उपलब्ध गराई चाडो अस्पताल सञ्चालनमा ल्याएपछि आम नागरिकहरूलाई सहज र सुलभ हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: : 2021-06-01 16:21:00

प्रतिकृया दिनुहोस्