सेनाकी एक जवानले गरिन् सुत्केरीको जीवन रक्षा

File photo
File photo

कोरोना सङ्क्रमणको दोस्रो लहरको कारण ब्लड बैंक जनकपुरधाममा रगतको अभाव भएको बेला नेपाली सेनाका एक महिला सैनिक जवानले रगत दिएर एक सुत्केरीको जीवन रक्षा गरेकी छन्। 

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका—२ बस्ने रीनादेवी गुप्ता सुत्केरी हुने क्रममा शरीरबाट अत्यधिक रक्तस्राव भई  गम्भीर अवस्थामा श्रीराम अस्पतालमा उपचारार्थ रहेकी थिइन्। 

रगत नपाएर निराश भएको अवस्थामा सेनाको धनुषाको महेन्द्रनगरस्थित श्रीनाथ गणमा कार्यरत सैनिक जवान मनिका तामाङ्गले रगत दिएर ती महिलाको ज्यान जोगाएकी थिइन् । 

समयमा सुत्केरीलाई रगत उपलब्ध नभएको भए ज्यान जाने खतरा रहेको बेलामा नेपाली सेनाले गरेको रक्तदानको अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्रशंसा गरेका छन्। 

हतियारसहित दुई पक्राउ

धनुषामा हतियारसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार धनुषाबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा धनुषाको सहिद नगर नगरपालिका–२ बस्ने  २५ वर्षिय उत्तिमलाल पासवान र  १९ वर्षिय निपुल यादव रहेका छन्। 

उनीहरुलाई बुधबार साँझ यदुकोहाबाट भारतको महिनाथपुर जाने क्रममा प्रहरी चौकी तिनकौरियादेखि ५०० मिटर उत्तरमा विशेष सूचनाको आधारमा जाँच गर्दा कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई  जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको बताइएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-02 21:09:00

प्रतिकृया दिनुहोस्