समुदायस्तरमा कोरोना जाँच बढाइयो

Nepal Page
Nepal Page

 प्रदेश सरकारले एन्टिजेन किट पठाएपछि जिल्लामा कोरोना जाँच बढाइएको छ। 

जिल्लामा किट अभावका कारण कोरोना परीक्षण पर्याप्त हुन नसकेको अवस्थामा प्रदेश सरकारबाट आठ हजार किट प्राप्त भएपछि समुदायस्तरमा परीक्षण बढाइएको हो। 

जिल्लामा एन्टिजेन किटको अभावमा कोरोना परीक्षणको दायरा बढाउन नसकेको अवस्थामा प्रदेशबाट प्राप्त उपकरण स्थानीय तहमा पठाएर परीक्षण बढाइएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए। 

समुदायस्तरमा सङ्क्रमण फैलिएको र गाउँगाउँमा लक्षण देखिएका बिरामीको सङ्ख्या बढेसँगै कोरोना परीक्षणको दायरा बढाइएको उनको भनाइ छ। 

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले प्रदेश सरकारका तर्फबाट जिल्लामा रु दुई लाख ४१ हजार ६८५ बराबरका आठ हजार थान एन्टिजेन किटसहितस्वास्थ्य सामग्री पठाएका थिए। 

प्राप्त सामग्री जिल्लाका अस्पताल, स्थानीय तह र स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालले बताए।  

रुखबाट लडेर युवाको मृत्यु

जिल्लाको चिशङ्खुगढी गाउँपालिका—८ मा रुखबाट लडेर आज एक जनाको ज्यान गएको छ। घाँस झार्ने क्रममा पयँुको रुखबाट लडेर २७ वर्षिय एकबहादुर विश्वकर्माको मृत्यु भएको हो। 

 घर नजिकै छिमेकीको खेतमा पयुँको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल रुम्जाटार ल्याउने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए। रासस 

प्रकाशित मिति: : 2021-06-02 22:00:00

प्रतिकृया दिनुहोस्