अप्ठेरोमा प्रधानन्यायाधीश राणा

सेतोपाटी

काठमाडौँ

शोभा शर्मा

प्रतिनिधि सभा विघटनविरूद्ध परेका ३० रिटमाथि सुनुवाइ गर्न तोकिएको संवैधानिक इजलासका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराई अलग भएपछि सर्वोच्च अदालतमा नयाँ परिस्थिति उत्पन्न भएको छ।

हिजो जुन प्रश्न रिट निवेदकका वकिलले उठाएका थिए आज त्यो प्रश्न लिखित रूपमा न्यायाधीशहरूले इजलासबाट उठाएका छन्।

रिट निवेदकमध्ये शेरबहादुर देउवाका वकिलले नेकपा छुट्याउने फैसलाको कारणले राजनीति संसद विघटनको अवस्थासम्म आइपुगेकाले न्यायाधीश तेजबहादुर केसी र न्यायाधीश बमकुमार श्रेष्ठले अहिलेका मुद्दा हेर्न नमिल्ने जिकिर गरेका थिए।

प्रश्न उठ्नेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले बेञ्चबाटै त्यसको प्रतिवाद गरेका थिए। न्यायाधीशहरूको नियतमाथि प्रश्न नउठाउन वकिललाई भनेका थिए। दिनभरिको वादविवादपछि त्यस विषयमा पछि निर्णय हुने भन्दै सो दिनको इजलास उनले टुंग्याएका थिए। 

प्रश्न उठेका न्यायाधीशले भोलिपल्ट आरोप निराधार भएको भन्दै इजालस नछोड्ने भन्दै लिखित निर्णय गरे। त्यसपछि इजलासका अरू दुई वरिष्ठ न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरू सो इजलासमा बस्न नसक्ने भन्दै अलग भए।

उनीहरू अलगमात्र भएनन्, इजलासमा लिखित रायमा नेकपाको नाम विवाद र अहिलेको संसद विघटनको मुद्दा एक-अर्कासँग जोडिएका छैनन् भन्ने आफ्नो विवेकले मान्न नसक्ने उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2021-06-03 12:03:00

प्रतिकृया दिनुहोस्