पूर्व राजा ज्ञानेन्द्र शाहले देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।
बिहीरबार भिडियो सन्देशमार्फत पूर्व राजा ज्ञानेन्द्रले कोरोना महामा नियन्त्रण गर्नका लागि आफ्नै संकल्प र बाह्य सहयोगको आवश्यक पर्ने बताएका छन्।
उनले भनेका छन्, 'यस महामारीमा दिनरात आफ्नो दायित्व र मानवीय कार्य गर्ने सबै अग्रपंक्तिमा रहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कर्याकर्ताहरुमा हामी अन्तरआत्मादेखि धन्यवाद दिन चाहन्छौँ। अहिले हामी दुवै पूर्ण स्वास्थ्य लाभको क्रममा छौँ। तर देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौँ। महामारीको प्रक्रिया जारी छ। यसलाई नियन्त्रण गर्नका लागि हाम्रा आफ्नै संकल्प र बाह्य सहयोगको आवश्यक पर्दछ। प्राप्त अन्तराष्ट्रिय सहयोगको लागि पनि धन्यवाद दिन चाहन्छु।'
पूर्व राजा ज्ञानेन्द्रले उपचारका क्रममा रहेका सबै नेपालीहरुको स्वास्थ्य लाभसंगै महामारीमा जीवन गुमाउनेहरुका आत्माको चिरशान्तिको कमना गरेका छन्।
'म तपाईंहरु सबैसंग सुरक्षित, सावधान तथा स्वास्थ रहन आग्रह गर्दछु। उपचारका क्रममा रहनु भएका सबै नेपालीहरुको शिघ्र स्वास्थ्य लाभसंगै यो महामारीमा जीवन गुमाउनेहरुका आत्माको चिरशान्तिको कमना गर्दछु। श्री पशुपतिनाथले ती सबै परिवारमा धैर्यधारणको लागि शक्ति प्रदान गरुन्', उनले भनेका छन्।