बेनी–जोमसोम सडक कालोपत्र शुरु

File photo
File photo

सन्तोष गौतम 

यहाँको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक कालोपत्र शुरु भएको छ। 

उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत पहिलो र तेस्रो प्याकेजमा कालोपत्र शुरु गरिएको हो।

पहिलो प्याकेजअन्तर्गत जिल्लाको राहुघाटदेखि बेगखोलासम्मको छ किलोमिटर र मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि कैकुखोलासम्मको १६।५ किलोमिटर सडक कालोपत्र शुरु गरिएको छ। 

प्रवेश विन्दुमा पर्ने बेनी नगरपालिका–९ गलेश्वरमा करीब एक किलोमिटर र चौथो नम्बर प्याकेजमा पर्ने कोवाङदेखि जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न लागिएको आयोजनाका इन्जिनीयर आषिश मानन्धरले बताए। 'बेनी घाँसा खण्डको दुई प्याकेजमा डिबिएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा असपाल्ट प्रविधिको कालोपत्र हुँदैछ' उनले भने, '११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र हुन्छ।' 

सोह्र दशमलव पाँच किलोमिटर दूरीको दोस्रोअन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा रहेको काभ्रे, बादरजुङ र घोप्टेभिर तथा पहिरो प्रभावित रुप्से क्षेत्रबाहेकका स्थानमा सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ। पहिलो प्याकेजको बेगखोला–जलथले खण्डमा भने ढिलाइ भएको छ। पहिलो प्याकेजको राहुघाट–बेगखोला खण्डको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनका प्रतिनिधि अमृत दाहालले प्राइम कोड हालेर कालोपत्रको काम शुरु गरेको बताए। 

'मौसमले साथ दियो भने गलेश्वरदेखि बेग खोलासम्मको छ किलोमिटर सडक जेठ महिनाभित्र कालोपत्र सक्ने तयारी गरेका छौँ' उनले भने, 'सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर सब बेस बिछ्याउने र रोलरले पेलिएको खण्डमा कालोपत्र गर्न लागिएको हो।'

कोरोना महामारीको जोखिम र निषेधाज्ञाका बाबजुद स्थानीय प्रशासन, बेनी–जोमसोम–कोरला सडक आयोजना र स्थानीय पालिकासँग समन्वय गरेर मजदूर, उपकरण र निर्माण सामग्री जुटाएर आयोजनालाई निरन्तरता दिइएको दाहालले बताए।

विसं २०७४ साउनदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ। करीब रु ६ अर्ब लागतको यस आयोजनाको ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ८८ र बेनी–जोमसोम खण्डको ६५ प्रतिशत भौतिक प्रगति छ। सात प्याकेजको जोमसोम–कोरला खण्डको चार प्याकेजको काम निर्माण सकिएको आयोजनाका सूचना अधिकारी आश्विनीकुमार यादवले बताए।

विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको बेनी– जोमसोम सडक कच्ची र जीर्ण थियो। कच्ची र साँघुरो सडकमा हिउँदमा धुलाम्मे तथा वर्षामा हिलाम्मे हुने समस्या थियो। 

बेनी–जोमसोमको चार प्याकेज (भाग) मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग रु दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको थियो । रु तीन अर्ब ४० करोड लागत अनुमान गरिएको थियो। बेनी–घाँसा खण्डका दुई प्याकेज र घाँसा जोमसोम खण्डको एउटा प्याकेजको कामको ठेक्का शर्मा÷युनाइटेड जेभीले लिएको थियो। 

विसं २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि ढिलासुस्तीले काम प्रभावित भएको हो। यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ। सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने मुस्ताङबाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए।

कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ। 

मुस्ताङमा १२ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग 

मुस्ताङमा कोरोना भाइरसबाट सङ्क्रमित र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचारमा आवश्यक पर्ने १२ थान अक्सिजन कन्स्ट्रक्सनसहित स्वास्थ्य सामग्री प्राप्त भएको छ।

निवर्तमान प्रतिनिधिसभा सदस्य तुलाचनको पहलमा ‘माउन्टेन हर्ट नेपाल’ले स्वास्थ्य उपकरण सहयोग गरेको हो । अमेरिकी संस्था ‘डाइरेक्ट रिलिभ’ मार्फत उपलब्ध सामग्री बिहीबार जोमसोममा मुस्ताङका स्थानीय तहलाई उपलब्ध गराइएको थियो । 

मुस्ताङको जोमसोम अस्पताल र पाँच स्थानीय तहलाई दुई/दुई थान अक्सिजन कल्सन्ट्रेटर उपलब्ध गराइएको तुलाचनले जानकारी दिए। 'अक्सिजन कल्सन्ट्रेटरले कोभिड सङ्क्रमित मात्र नभई अन्य बिरामीको उपचारमा पनि सहयोग पुग्छ', उनले भने, 'स्थानीयवासीका साथै लेक लागेर बिरामी हुने पर्यटक र तीर्थयात्रीका लागि पनि यसको प्रयोग गर्न सकिन्छ।' 

विदेशी संस्थाबाट सहयोग प्राप्त सामग्री हस्तान्तरणका लागि अध्यक्ष अवन गौतमसहित संस्थाका प्रबन्धक विजय पौडेल र इन्जिनियर प्रताप अधिकारी हेलिकोप्टर चढेर मुस्ताङ पुगेका थिए। माउन्टेन हर्ट नेपालले गोर्खा, नुवाकोट र मुस्ताङमा कल्सन्ट्रेटर हस्तान्तरण गरेको जनाएको छ। 

संस्थाले केही दिनभित्रै मनाङ, म्याग्दी, रसुवा र कास्कीसहित आवश्यक पर्ने जिल्लामा अक्सिजन कल्सन्ट्रेटर हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ। 

मुस्ताङ अस्पतालमा हालसम्म सघन उपचारकक्ष र भेन्टिलेटरको सुविधा छैन। अस्पतालमा पर्याप्त जनशक्तिसमेत नभएकाले संस्थाले प्रदान गरेको अक्सिजन कल्सन्ट्रेटर मुस्ताङका स्थानीयवासीलाई बहुउपयोगी हुने जनाइएको छ। 

अस्पतालमा न्यून क्षमताको अक्सिजन प्लान भएको र सिलिन्डरमा अक्सिजन भर्ने उपकरण नभएकाले अक्सिजन ढुवानीमा समस्या पर्दै आइरहेको छ। बर्खायामको मौसममा बाढी/पहिरो र नदी कटानका कारण सडकको दुरावस्थाका कारण पनि अक्सिजन भरेर मुस्ताङ लैजान समस्या हुने गरेको छ। रासस 

प्रकाशित मिति: : 2021-06-04 13:20:00

प्रतिकृया दिनुहोस्