विगत १५ दिनदेखि सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकास्थित सखुवाटोलबाट हराएका एक बालक अझै भेटिएका छैनन्।
हनुमाननगर कङ्कालनी–११ बस्ने जयनारायण यादवका १३ वर्षीय छोरा रवि बेपत्ता भएका हुन्। गोजीबाट पैसा निकालेपछि जयनारायणले छोरा रविलाई गाली गर्दा रिसाएर उनी घरबाट निस्किएका थिए।
पारिवारिक स्रोतका अनुसार यही जेठ ७ गतेका दिन रवि घरबाट बाहिर निस्किएका भए पनि अहिलेसम्म घर नपुगेको जनाइएको छ।
हराएको १५ दिनसम्म पनि छोरा सम्पर्कमा नआएपछि बुबा जयनारायणले खोजीका लागि इलाका प्रहरी कार्यालाय हनुमाननगर र जिल्ला प्रहरी कार्यालयमा लिखित जानकारी दिँदासमेत हालसम्म ती बालक खोजी गर्न नसकिएको बेपत्ता रविका मामा नवीन यादवले बताए।
बोदेबर्साइन नगरपालिकालाई आर्थिक सहयोग
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले सप्तरीको बोदेबर्साइन नगरपालिकालाई आर्थिक सहयोग गरेको छ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले बोदेबर्साइन नगरपालिकालाई रु २५ हजारको चेक बिहीबार हस्तान्तरण गरिएको छ।
उक्त संस्थाका बोदेबर्साइन कार्यालाय प्रमुख योगेन्द्रप्रसाद यादवले नगरपालिकाका प्रशासनिक प्रमुख घनश्याम यादवलाई चेक हस्तान्तरण गरे। संस्थाले यसअघि पनि कोरोना महामारीमा अग्रपङ्क्तिमा रहेर काम गरिरहेका सुरक्षाकर्मीसमेतलाई स्वास्थ्य समग्री वितरण गरेको थियो।
पोखरामा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले नेपालका सबै जिल्लामा समुदायमा आधारित लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको जनाएको छ। रासस