कार्यसम्पादन मूल्याङ्कनमा शुक्लाफाँटा नगरपालिका उत्कृष्ट

File photo
File photo

कार्यसम्पादन मूल्याङ्कनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका जिल्लामै उत्कृष्ट भएको छ। कार्यसम्पादन मूल्याङ्कनमा बढी अङ्क प्राप्त गरी नगरपालिकाले रु ५५ लाख अनुदान प्राप्त गरेको छ। 

कार्यसम्पादन मूल्याङ्कनका लागि तोकिएका सात सूचकका आधार पूरा गरेकाले नगरपालिकाले जिल्लामै सबै स्थानीय तहभन्दा बढी अनुदान रकम प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले बताए। 

'कार्यसम्पादन मूल्याङ्कनका लागि निर्धारित सूचकअनुसार काय गर्दा सन्तोषजनक नतिजा पाएका छौँ' उनले भने, 'आउँदो आवका लागि समेत नतिजामुखी परिणाम ल्याउँछौं। कर्मचारीको लगनशीलता र मिहिनेतले सबैभन्दा बढी अनुदान पाउन सफल भएका छौं।' 

नगरपालिकाले समानीकरण अनुदानअन्र्तगत न्यूनतम, सूत्रमा आधारित, कार्यसम्पादनमा आधारित गरी जम्मा रु ६९ लाख ४२ रकम प्राप्त गरेको छ। 

कार्यसम्पादन मूल्याङ्कनको नतिजाअनुसार सबैभन्दा बढी शुक्लाफाँटा नगरपालिकाले रु ५५ लाख, लालझाडी गाउँपालिकाले रु ५४ लाख, दोधरा चाँदनी र भीमदत्त नगरपालिकाले समान रु ४९/४९ लाख, बेदकोट र पुर्नवास नगरपालिकाले रु ४८/४८ लाख, कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाले समान रु ३५ लाखका दरले अनुदान रकम पाएका छन्। 

प्रमुख प्रशासकीय अधिकृत थापाका अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (२) को व्यवस्थाबमोजिम स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय अनुदान सिफारिस गर्दा कार्यसम्पादनको स्तरलाई आधार लिइने गरिन्छ। 

कार्यसम्पादन स्तर मापनका लागि स्थानीय तहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गर्नु पर्ने न्यूनतम् प्रकृयागत कार्यसम्पादन गरे नगरेको, कानून तर्जुमा गरे नगरेको, उद्देश्यबमोजिम खर्च गरे नगरेकोलगायतका विभिन्न सात सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मापन गरिन्छ। 
 
महाकाली अस्पतालमा पिसिआर परीक्षण निःशुल्क 

महाकाली प्रादेशिक अस्पतालमा कमजोर आर्थिक अवस्थाका व्यक्तिको पिसिआर परीक्षण निःशुल्क गरिएको छ। अस्पतालको सामाजिक विकास एकाइबाट सेवा पाउने विपन्न परिवारका व्यक्तिहरुको पिसिआर जाँच निःशुल्क गरिएको हो। 

यसबाहेक अन्यलाई पिसिआर जाँचको शुल्क आधा घटाइएको छ। यसअघि एक हजार शुल्क लिने गरिएकामा अहिले यसलाई घटाएर रु ५०० बनाइएको छ। 

अस्पताल व्यवस्थापन समितिको केही दिनअघि बसेको बैठकबाट पिसिआर जाँच शुल्क हेरेफेर गरिएको हो। कमजोर अवस्थाका व्यक्तिलाई जाँच निःशुल्क गर्न आग्रह हुने गरेको थियो। 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले सामाजिक विकास एकाइबाट सेवा लिने सबै सेवाग्राहीको निःशुल्क र अन्यलाई रु ५०० शुल्क लिने गरी निर्णय गरिएको बताए। 'आर्थिक रुपमा कमजोर अवस्थाका बिरामीले शुल्क तिर्नु पर्दैन। अन्यले पनि रु ५०० मात्रै तिर्नु पर्छ' उनले भने, 'यसबाट सेवाग्राहीलाई फाइदा हुन्छ।' 

अस्पतालको सामाजिक विकास एकाइबाट आर्थिक रुपमा कमजोर भएका समुदाय, अपाङ्गता भएका व्यक्ति, एकल महिला, सीमान्तकृत, पछाडि पारिएका समुदायका व्यक्तिलाई निःशुल्क रुपमा सेवा दिने गरिएको छ। 

कोरोना भाइरस महामारीको पहिलो लहर फैलिएपछि गतवर्ष अस्पतालमा पिसिआर मेसिन जडान गरिएको थियो । भीमदत्त नगरपालिकाले अस्पतालका लागि पिसिआर मेसिन खरीद गरेको थियो। 

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा पहिलोपटक भीमदत्तले मेसिन खरीद प्रक्रिया अघि बढाएको थियो । त्यसपछि अन्य तह पनि मेसिन खरीदमा लागेका थिए। 

कोरोना सङ्क्रमित बिरामीको पिसिआर जाँचका लागि कैलालीको धनगढी जानु पर्ने बाध्यता हटाउन अस्पतालमा मेसिन जडान गरिएको थियो। पिसिआर जाँचबाट आउने शुल्क पिसिआर सञ्चालनमा खर्च हुने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताए। 

'मेसिन सञ्चालन र व्यवस्थापनमा यो शुल्क खर्च हुन्छ' उनले भने। महाकाली अस्पतालमा हालसम्म तीन हजार ९४६ जनाको पिसिआर जाँच गरिएको छ। त्यसमध्ये दुई हजार जनामा सङ्क्रमण देखिएको छ। रासस 

 

प्रकाशित मिति: : 2021-06-05 12:17:00

प्रतिकृया दिनुहोस्