सुदूरपश्चिम प्रदेशमा गएको हप्तामा कोरोना भाइरसको सङ्क्रमण घट्दैै गएको देखिए पनि सङ्क्रमणको अनुपातमा मृत्युदर घट्न सकेको छैन।
स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार गएको हप्तामा प्रदेशमा ४२ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ। सो अवधिमा १२ हजार ७६० जनाको नमूना परीक्षण हुँदा झण्डै १६ प्रतिशत अर्थात् दुई हजार ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।
अघिल्लो हप्तामा ५७ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको थियो। सो अवधिमा १५हजार ३६१जनाको नमूना परीक्षण गरिँदा झण्डै २४ प्रतिशत आर्थात् तीन हजार ६२०जनामा सङ्क्रमण भएको पाइएको थियो।
यस्तै गएको हप्तामा सात हजार ६१ जना उपचारपछि घर फर्किएका छन्। अघिल्लो हप्ता तीन हजार ८८६ जना उपचारपछि निको भएका थिए।
निर्देशनालयका अनुसार पछिल्लो २४घण्टामा कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा र बैतडी जिल्लामा गरी नौ सङ्क्रमितको मृत्यु भएको छ।
प्रदेशको जनसङ्ख्या २५लाख ५२ हजार ५१७ मध्ये आजसम्म भण्डै नौ प्रतिशत अर्थात् दुई लाख ३६हजार ६१९को कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ। रासस