जुम्ला कारागारका १५ जना कैदीलाई काेराेना संक्रमण 

जुम्ला कारागारका १५ जना कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

उनीहरुलाई ज्वरो आउने र खोकी लाग्ने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले गरेकाे आरटी पिसिआर परिक्षण पछि काेराेना संक्रमण पुष्टि भएको हाे।

कारागार भित्रका दुई महिला र १ सय २१ पुरुष गरी १ सय २३ जनाको कोरोना परिक्षण गरिएको थियो। जसमा १५ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जेलर गयाप्रसाद पाण्डेले बताए।

'कारागारमा कोरोना लक्षणका बिरामी भेटिएपछि पिसिआर परिक्षणका लागि अस्पताललाई आग्रह गरेका थियाैं। सोही अनुसार परिक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भयो,' उनले भने, 'संक्रमति १५ जना मध्ये एक जना ७७ वर्षीय पुरुषको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचार भइरहेको छ।'

उनका अनुसार अन्य संक्रमितलाई कारागारभित्रै छुट्टै आइसोलेट गरिएको छ।

कारागारमा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको कारागार शाखा जुम्लाले जनाएको छ। महिलाहरुलाई अलग गरेर आइसोलेसन वार्ड बनाएइको छ।  डिएसपी दानबहादुर थापाले बताए।

'संक्रमितको अवस्था हेरेर अस्पताल लिने ल्याउने कार्य भइरहेको छ,' उनले भने, 'संक्रमितको नियमित रेखदेख र औषधि उपचार भइरहेको छ।'

उनका अनुसार संक्रमितले आफूलाई अफ्ठयारो भएको खण्डमा खबर गरेपछि लक्षण अनुसारको औषधि प्रयोग गर्ने तयारी गरिएको छ।

प्रकाशित मिति: : 2021-06-06 20:46:00

प्रतिकृया दिनुहोस्