खेलाडीलाई खोपका लागि पहल शुरु

File photo
File photo

प्रदेश खेलकुद परिषद्, गण्डकीले प्रदेशको नेतृत्व गर्दै आठौं राष्ट्रिय खेकलुद प्रतियोगितामा सहभागी र १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई कोभिड १९ विरुद्धको खोपका लागि पहल शुरु गरेको छ। 

परिषदको बुधबार पोखरामा सम्पन्न बैठकले कोभिड १९ का कारण ठप्प रहेको खेलकुद गतिविधिलाई चलायमान गर्न खोपका लागि पहल शुरु गर्ने निर्णय गरेको हो। 

परिषदका सदस्यसचिव तेजबहादुर गुरुङले बैठकबारे जानकारी दिँदै भने, ‘खेल क्षेत्र अब टुलुटुलु हेरेर बस्न सक्दैन, खेलाडी र प्रशिक्षकलाई हामी मैदानमा उतार्न चाहन्छौ तर त्यो भन्दा अघि खोप हाम्रा लागि अनिवार्य हुन्छ।'

खेलाडीसँगै सबै जिल्ला खेलकुद विकास समितिका सदस्य र प्रशिक्षकलाई समेत कोभिडविरुद्धको खोपका लागि पहल शुरु गरिएको उनको भनाइ छ।

परिषदको बैठकले गण्डकी प्रदेशमा विभिन्न पर्यटन तथा साहसिक खेलको अध्ययन तथा परामर्शका लागि वसन्तराज दवाडीको संयोजकत्वमा तिन सदस्यीय उपसमिति गठन गरेको छ। 

समितिको सदस्यमा परिषद्का सदस्य गिरमान गुरुङ र केशव पाठक रहेका छन्। बैठकले असारको दोश्रो साताबाट प्रदेशमा विभिन्न खेलका प्रशिक्षक उत्पादन गर्न अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। रासस 

प्रकाशित मिति: : 2021-06-10 20:54:00

प्रतिकृया दिनुहोस्