भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको आयोजनामा जनस्वास्थ्य सेवा केन्द्र र ख्वप अस्पताल कोभिड युनिटमा काम गरिरहेका चिकित्सक, नर्स, कर्मचारीहरूबीच शुक्रबार अनलाइनबाट मार्गनिर्देशनात्मक कार्यक्रम भयो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले नपाद्वारा सञ्चालित ख्वप अस्पतालप्रति जनताको सद्भावना निकै प्रशंसनीय भएको बताए।
नगरपालिकाको आह्वानकै भरमा करोडौंको रकम जम्मा हुनु भनेको नगरपालिकाप्रति जनताको विश्वास कायम रहेको बताउँदै उनले पैसा कमाउन डाक्टर बन्नेहरूले यस्तो महामारीमा बिरामीको सेवा गर्दैनन् भने।
उनले भने, ‘कोभिड १९ महामारी पनि एकप्रकारको युद्ध हो। युद्धको बेला आफ्नो कर्तव्य निर्वाह नगर्ने इमानदार सिपाहीं हुन सक्दैनन्।’
महामारीको समयमा चिकित्सक, नर्स तथा कर्मचारीहरूले अझ बढी सक्रियतापूर्वक निःस्वार्थ भावले काम गर्नुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले पैसा कमाउने उद्देश्यले डाक्टर पढेकाहरूको असली चरित्र अहिले थाहा भएको बताए।
स्वास्थ्य सेवामा रहेका डाक्टर, नर्स र कर्मचारीको व्यवहार राम्रो नभए जनताको गुनासो आउनु स्वाभाविक भएको बताउँदै अध्यक्ष बिजुक्छेँले भने, आफूमा भएको कमी कमजोरीलाई समयमै सुधार गर्नु आवश्यक छ।
भक्तपुरको स्वास्थ्य क्षेत्र राम्रो भए अरुलाई पनि राम्रोसँग काम गर्न हौसला मिल्ने बताउँदै उनले आवश्यकताको समयमा ती चिकित्सक टोलीले देशका विभिन्न जिल्लाहरूमा गई सेवा गर्न सक्ने बताए।