बहुचर्चित अरुण तेस्रो जलविद्युत आयोजना प्रभावित स्थानीयवासी वर्षौंदेखि मुआब्जाको लडाइँमा

संखुवासभाको चिचिला गाउँपालिकाको दिदिङपुखुवा दोभानस्थित अरुण नदीमा भारतीय कम्पनी सतलज जलविद्युत निगमले बहुचर्चित अरुण तेस्रोको पावर हाउस निर्माण गरिरहेको छ।

विगत पाँच वर्षदेखि जारी पावर हाउस निर्माणको काम करिब ७० प्रतिशत पूरा हुने क्रममा छ। तर सोही पावर हाउस प्रवेश मार्गका लागि जग्गा उपलब्ध गराएका स्थानीयवासीहरु भने अहिलेसम्म जग्गाको मुआब्जा पाउन नसकी संघर्षरत छन्।

पावर हाउस प्रवेशद्वार निर्माणका लागि सडकले ओगटेको जग्गा सरकारले अधिग्रहण गरेको थियो। चिचिला गाउँपालिकाको १, २ र ३ वडाका करिब २ सय घर परिवारको जग्गा अधिग्रहण गरी छ्याङकुटीदेखि परियोजनास्थल पुखुवासम्म जोड्ने साढे २३ किलोमिटर लामो सडक निर्माण गरिएको थियो।

सरकारले जग्गा अधिग्रहण गरी सडक निर्माण पूरा भएको १२ वर्ष बिते पनि अहिलेसम्म जग्गाको मुआब्जा नपाएको पीडित स्थानीयवासी बताउँछन्।

आयोजना प्रभावित क्षेत्रका लागि २०७३ साल माघमा मुआब्जा वितरणपछि निर्माण कार्य सम्पन्न हुनेमा स्थानीयवासी ढुक्क थिए। सोही वर्ष चैतदेखि निर्माणको काम सुरु भयो तर जग्गाको मुआब्जा दिनेतर्फ सरकारको ध्यान नगएपछि स्थानीयवासी मुआब्जाको माग गदै संघर्षरत छन्।

प्रकाशित मिति: : 2021-06-13 10:44:00

प्रतिकृया दिनुहोस्