खुम्चियो गण्डकीको बजेट, गत वर्षभन्दा ४ अर्ब कम (पूर्ण पाठसहित)

गण्डकी सरकारले आर्थिक वर्ष २०७८/०९७ को लागि बजेट सार्वजनिक गरेको छ। शनिबार गठन भएको सरकारले असार १ गते बजेट ल्याउनै पर्ने बाध्यकारी नियम भएकाले हतारमा बजेट ल्याएको छ। 

प्रदेशसभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। गत वर्ष ३४ अर्बको बजेट आएको थियो।

बजेट सार्वजनिक गर्दै उनले चालुतर्फ ४३.५ प्रतिशत र पुँजीतर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत बजेट रहेको उनले बताए। अघिल्लो आर्थिक वर्ष ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याइएको थियो।

केन्द्रबाट समानीकरण अनुदानमा ७ अर्ब ४२ करोड २८ लाख रुपैयाँ पाएको छ। यस्तै शसर्त अनुदानमा ४ अर्ब १८ करोड ४३ लाख, विशेष अनुदानमा ५४ करोड ९० लाख, समपुरक अनुदानमा ८७ करोड ३६ लाख रुपैयाँ आएको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री पोखरेलले स्थानीय तहका लागि वित्तिय समानीकरण अनुदानमा १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।

वित्तिय समानीकरण अनुदानमा स्थानीय तहलाई १ अर्ब १० करोड रुपैयाँ, प्रदेश र स्थानीय तहको साझेदारीका लागि प्रत्येक पालिकालाई १ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको छ।

विश्वव्यापी रुपमा देखा परेको कोभिड १९ को महामारीबाट प्रदेशका नागरिकहरूको जीवन रक्षा गरी जनजीवनलाई सामान्यीकरण गर्ने साथैसंघीय संरचनाको बलियो आधार निर्माणका निम्ति प्रदेश सरकारको भूमिका थप प्रभावकारी बनाउनु गरि बजेट आएको उनले बताए। 

प्रकाशित मिति: : 2021-06-15 18:01:00

प्रतिकृया दिनुहोस्