अबैध लागूऔषधसहित ६ जना पक्राउ

Symbolic photo
Symbolic photo

विभिन्न ठाउँबाट अबैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।

पर्साको वीरगंज महानगरपालिका-१८ भवानीपुरस्थित सडकमा रोकी राखेको प्रदेश-०१-००६ ख १८२८ नम्बरको ट्रकबाट ६५ किलोग्राम अबैध लागूऔषध गाँजासहित ट्रक चालक मकवानपुर मनहरि गाउँपालिका-६ नयाँबस्ती बस्ने ५१ वर्षीय रामकुमार मोक्तानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त ट्रक तलासी गर्ने क्रममा क्याबिनभित्र लुकाइ राखेको उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो।

त्यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० सिमाचोकबाट करिब ८० केजी अबैध लागूऔषध गाँजासहित मनहरी नयाँबस्ती बस्ने २५ वर्षीय सन्तोष आले मगर सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

चितवनबाट बारातर्फ जाँदै गरेको ना.२ ख ५५७९ नम्बरको ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाबाट खटीएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी ट्रक चालक मगर समेत ३ जनालाई पक्राउ गरेको हो।

यस्तै कञ्चनपुर, बेलौरी नगरपालिका-८ कलकत्ता बजारबाट ७ ग्राम ७ सय ६० मिलिग्राम अबैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने २४ वर्षीय लाल बहादुर ऐर र सोही ठाउँ बस्ने २२ वर्षीय चन्द्र बहादुर साउद रहेका छन्।

से.६ प ८०९९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक ऐर र मोटरसाइकलमा सवार साउदलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2021-06-16 13:21:00

प्रतिकृया दिनुहोस्