जहाँ घर पुरिने पालो कुर्दैछन् घरधनी

अनलाइनखबर

मेलम्ची

इन्द्रावतीमा पानीको बेग कम भएको छैन । केही अघिसम्म बायाँतर्फको कटान गरिरहेको नदीले फेरि बजारतर्फ कटान सोझ्यायो । जसका कारण हतास र आत्तिएका जस्ता देखिने स्थानीय दुई व्यवसायी बुधबार दिउँसो करिब साढे २ बजेतिर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ११ मा रहेको कालीजंग गणमा आइपुगे ।

ती दुई स्थानीय व्यवसायीहरुले आफूहरुलाई गणपतिसँग भेटाइदिन बाहिर बसेका सैनिक जवानसँग अनुनय विनय गरे ।

उनीहरुको भनाइ थियो, “हेलिकप्टरबाट बिस्फोट गराएर नदीको धार परिवर्तन गराउन सके तत्काल जोखिममा रहेका करिब एक दर्जन घर जोगाउन सकिन्छ ।”

तर त्यतिबेलै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक गुल्मभित्रै चलिरहेकाले समितिबाट निर्णय नहुन्जेल केही गर्न नसक्ने जवाफ सैनिक अधिकारीहरुले फर्काए । त्यो जवाफले खिन्न भएका उनीहरु त्यहीँ बसेर आफ्नो डुब्न लागेको घरलाई टुलुटुलु हेरिरहे ।

नदीले दायाँतर्फको कटान सोझ्याएपछि स्थानीयलाई लागिसकेको छ कि बजार क्षेत्रका थप घरहरुमा अब क्षति पुग्ने निश्चित छ । त्यसैले इन्द्रेश्वर माविमा शरण लिएर बसेका ती दुई व्यवसायीहरु इन्द्रावतीले धार परिवर्तन गरेपछि बेचैन भएर हारगुहारको लागि आर्मी क्याम्प आइपुगेका थिए ।

प्रकाशित मिति: : 2021-06-17 10:17:00

प्रतिकृया दिनुहोस्