गण्डकीमा बाढीपहिरो वितण्डाः कहाँ कति क्षति?

मनसुन सुरु भएको पहिलो सातामै देशका विभिन्न ठाउँमा बाढीपहिरोले वितण्डा मच्चायो।

लगातारको वर्षाले हजारौं विस्थापित भए। सयौं बस्ती डुबानमा परे। ज्यान जोगाउन मान्छेहरु भिरैभिरै पनि भागे। एक्कासी आएको बाढीले नसोचेको क्षति पुर्‍यायो।

क्षतिको पूर्ण विवरण अझैं आइसकेको छैन। उद्धार कार्य अझैं पनि जारी छ। मौसम सफा नहुँदा उद्धार कार्य पनि कठिन भई रहेको छ।

कहाँ कति क्षति ?

गण्डकीका ११ जिल्लामध्ये हिमाली जिल्ला मनाङमा सबैभन्दा बढी क्षति पुर्‍यायो। हजारौं मानिस विस्थापित भए। बस्ती अझैं डुबानमा छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली राहत सामग्रीसहित उद्धारको लागि मनाङ उडेको अझैंसम्म फर्किन सकेको छैन।

जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख विष्णु लामिछानेले विस्थापित ३५ लाई उद्धार गरेर सुरक्षित स्थानमा ल्याइएको बताए। पछिल्लो विवरण अनुसार मनाङमा एक हजार बढी विस्थापित भएका छन्।

‘भर्खरै ३५ जनालाई रेस्क्यु गर्‍यौं सिरानतालमा रहेका २४जनालाई, थोचेमा रहनु भएका ११ जनालाई रेस्क्यु गरिएको छ। मौसम खराब भएर थप रेस्क्यु गर्न सकिएन,’ उनले भने, ‘ताचेका ६/७ जना थोचेमा आएर बस्नु भएको छ। माथिको स्कुलमा। उहाँहरुलाई उद्धार गर्न हिँडिएको थियो, त्यहाँ पुग्न सकिएन। बिचैबाट फर्किनु पर्‍यो।’

विस्थापितहरुलाई अझै २/३ ठाउँबाट रेस्क्यु गर्न बाँकी रहेको उनले बताए। ‘फु मा केही मान्छे माथि हिमालमा अलपत्र परेर बसिरहनु भएको छ। त्यहाँ उद्धार गर्नुपर्ने छ। ताचेमा रहेका केहीलाई रेस्क्यु गर्नुपर्ने छ। वडाहरुमा बसिरहनु भएको छ केही, उहाँहरुलाई रेस्क्यु गर्नुपर्ने छ, विस्थापित १ हजार जनालाई नै उद्धार गर्नुपर्ने होइन,’ उनले भने।

यता कास्कीको माँदी गाउँपालिकामा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीले निर्माणाधिन गरेको सुपर माँदी हाइड्रो तहसनहस नै पारेको छ। ७० प्रतिशत काम सकिइसकेको हाइड्रोमा बाढी पस्दा एक अर्ब बराबर क्षति भएको अनुमान गरिएको छ।

माँदी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले सञ्चालनमा रहेका नामार्जुङ जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ। माँदी नदीमा आएको बाढीले जलविद्युत आयोजनामासहित सडक सम्पर्क पनि टुटेको छ।

बुधबार मात्रै जलविद्युत परियोजनामा काम गर्ने डेढसय मजदुरलाई उद्धार गरिएको थियो। यस्तै, पालिकाको वडा नम्बर १४ मा १० घर, ५ मा ४ घर भत्केको उनले सुनाए। २८ घरमा पनि सामान्य क्षति पुगेको उनले सुनाए।

कपुचे तालभन्दा तलपट्टी रहेको भेँडीगोठमा पनि बाढीले क्षति पुर्‍याएको छ। ‘कपुचेबाट बाढी आएर त्यो भन्दा तलपट्टी रहेको भेँडीगोठमा क्षति पुर्‍याएको छ। दुईटै खोलाबाट बाढी आएर भेँडीगोठ बगाइ दियो। तीन जना गोठालो रहेछ, भेँडीगोठ बगाई हाल्यो, अहिले ती तीन जना गोठालोलाई उद्धार गरेर वारी ल्याईसकेका छौं,’ उनले भने।

भेँडीगोठका २६३ भेँडामध्ये २२ वटा मात्रै भेटिएको उनले बताए। ‘त्यो २२ वटा पनि पारी छ। कसले ल्याउने ?’ उनले भने। हाइड्रोको ड्याममा थुनिएका कामदारलाई डोरी लगाएर उद्धार गरिएको उनले बताए। 

‘डोरी लगाएर उद्धार गरियो। गाउँका स्थानीय युवाहरु लागेर डोरी लगाएर, फड्के बनाएर उद्धार गरियो। स्कुलमा ल्याएर खाना खुवाइयो,’ उनले भने। कपुचे ताल तलपट्टी हुगुमा रहेको होटल सञ्चालक, भेँडीगोठालोसहित १३ जनालाई रेस्क्यु गर्न बाँकी रहेको उनले जानकारी दिए।

‘गाउँ आउने बाटो भत्किएको छ। उहाँहरुको उद्धारको लागि हेलि पठाउने भनेको मौसम खुलेको छैन। तर, उहाँहरु सुरक्षित हुनुहुन्छ,’ उनले भने। पानी रोकिएपछि उनीहरुलाई उद्धार गर्न सकिने उनकाे भनाइ छ।

यस्तै लामजुङको दार्दी, हिले, मर्स्याङ्दी लगायतका क्षेत्रमा क्षति पुगेको छ। दोर्दीको वडा नम्बर ८ हिलेमा राहतका लागि मन्त्री मधुमाया अधिकारीसहित जाँदै गरेको जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख होमप्रसाद लुइँटेलले बताए। हिलेमा १६ घर बगाएको छ। यस्तै, ६० घर विस्थापित छन्। लमजुङको दोर्दीमा बढी क्षति पुगेको छ। पिपुल, लेप्चे, हिमालय पावर पार्टनर, लिभर्टी हाइड्रोमा बाढीले बढी नोक्सान पुर्‍याएको उनले बताए।

बाढीले मुस्ताङमा बाहिरी जिल्लासँगको सम्पर्क टुटेको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालका अनुसार अहिले हवाई सम्पर्क कायम राख्न पनि मौसमका कारण सम्भव छैन। पहिरोले घरपझोङ गाउँपालिका वडा नम्बर ५ का २ घरमा क्षति पुर्‍याएको उनले बताए।

म्याग्दीमा जोखिममा रहेका ७९ घरलाई अन्तै सारिएको छ। मालिका गाउँपालिकामा १९, रघुंगगामा ८, श्रीनगरमा ४१, अन्नपूर्णमा १०, मंगलामा १ गरि जम्मा ७९ घरलाई स्थानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख सुवास शर्मा पौडेलले जानकारी दिए।

‘जोखिममा रहेका १ सय २२ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ,’ उनले भने। मंगला गाउँपालिकाका एक जना घाईतेलाई हेलिकप्टरबाट उद्धार गरि पोखरा लगिएको उनले बताए। म्याग्दीमा पनि अहिलेसम्म बाढीले मानवीय क्षति भने पुर्‍याएको छैन।

पर्वतको सेतीवेणी पनि लगातारको वर्षाले जलमग्न हुन पुगेको थियो। बागलुङमा कालिगण्डकी करिडोर अन्र्तगतको मालढुंगाका पक्कि पुलमा क्षति पुर्‍याएको छ।

गण्डकीका ११ जिल्लामध्ये नवलपुर, स्याङ्जा, तनहूँमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छैन।

प्रकाशित मिति: : 2021-06-17 20:03:00

प्रतिकृया दिनुहोस्