सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालन भएको छ। दुर्गम उत्तरी क्षेत्र भोटखोलामा २० दिनदेखि अवरुद्ध टेलिफोन सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको हो।
भोटखोलाको अवरुद्ध टेलिफोन सेवा २० दिनपछि पुनः सञ्चालन भएको दूर सञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिनुभयो । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका थिए।
अवरुद्ध टेलिफोन सेवा लामो प्रयासपछि आज बिहान १०ः०० बजेदेखि पुनः सञ्चालन भएको सूचना अधिकारी मोक्तानले बताए। मकालु गाउँपालिकाको भाटभटेनीको रेडियो डिभाइसमा खराबी देखिएपछि भोटखोलाको माक्पालुङको टावरमा लिङ्क नहुँदा टेलिफोन सेवा अवरुद्ध भएको उनले बताए।
दुर्गममा यातायातको नचल्ने भएका कारण पैदल जानुपर्ने भएकाले तत्कालै मर्मत गर्ने नसकिएको सूचना अधिकारी मोक्तानले जानकारी दिए। रासस