चीनको लसान जाइण्ट बुद्ध रमणीय क्षेत्र व्यवस्थापन समितिले लुम्बिनी विकास कोषलाई सहयोगस्वरुप उपलब्ध गराएको रु ४० लाख बराबरको स्वास्थ्य सामग्री काठमाडौँ ल्याइएको छ।
कोषको अनुरोधमा लसान नगरपालिका जनसरकारको तर्फबाट सो समितिले १५ थान अक्सिजन कन्सन्ट्रेटर, ५० हजार सर्जिकल मास्क, दुई हजार पिपिई र दुई हजार नै मेडिकल गगल्स उपलब्ध गराएको हो।
कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले झण्डै दुई लाख २० हजार चिनियाँ युवान बराबरको स्वास्थ्य सामग्री खुनमिङ सहरबाट हिमालय एअरलाइन्सको चार्टर उडानमार्फत् शुक्रबार बिहान काठमाडौँ आइपुगेको जानकारी दिए।
चिनियाँ भगिनी संस्थाको पहलमा अनुदानमा प्राप्त सामग्री सक्दो छिटो लुम्बिनी पठाउने तयारी भइरहेको राइले बताए।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र चीनको सिछुवान प्रान्तस्थित लसान जाइण्ट बुद्ध रमणीय क्षेत्रबीच तीन वर्षयता भगिनी सम्बन्ध स्थापित छ। यी दुबै युनेस्कोको विश्व साँस्कृतिक सम्पदा सूचिमा सुचिकृत छन्।
लशासन पहाडमा खोपिएकोे शाक्यमुनि बुद्धको ढुङ्गाको विशाल मूर्ति विश्वकै सबैभन्दा ठूलो मानिन्छ। यसअघि लसानको तर्फबाट कोषलाई उपलब्ध गराइएको १० थान कन्सन्ट्रेटर गत आइतवार काठमाडौँ ल्याइएको थियो।