पशुपति क्षेत्रको खाली स्थानमा गुर्जोका बिरुवा रोप्ने अभियान शुरुआत भएको छ।
अभियानको पहिलो पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ५०० बिरुवा रोपिएको छ। गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराएका ५०० बिरुवा कोषको कार्यालय परिसरमा रोपिएको हो।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायतले गुर्जो बहु उपयोगी वनस्पति भएकाले कोरोना महामारीका बेला रोग प्रतिरोधी क्षमता विकास गर्न उपयोगी हुनेमा जोड दिए।
गुर्जो रोपण कार्यक्रमको समन्वय वाग्मती सफाइ अभियानकर्मी डा.माला खरेल र पूर्व सहसचिव तथा योग गुरु किशोर जोशीले गर्नु भएको थियो। आइतबार पनि पशुपति क्षेत्रको वनकालीमा गुर्जो रोप्ने कार्यक्रम रहेको जनाइएको छ।
पशुपति क्षेत्रका खाली स्थानमा क्रमश : गुर्जो रोपण गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ। पशुपति क्षेत्रमा गुर्जो रोपणसँगै गुर्जोबाट बनेको चिया, धुलो औषधी पनि निःशुल्क वितरण गरिएको थियो।
अभियानकर्मी राजलवट विसं २०७६ चैतमा कोरोना महामारी फैलिएसँगै गुर्जो रोपण एवं यसबाट बनेका परिकारलाई निःशुल्क वितरण गर्ने अभियानलाई तीव्रता दिँदै आउनुभएको छ। गुर्जोबाट बनेका परिकारको माग तीव्र भइरहेकाले एक घर एक गुर्जो रोपण अभियान चलाइएको अभियानकर्मी राजलवट बताउछन्।
‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् मानिसलाई त्यही स्थानको जडिबुटीले औषधिको काम गर्छ भन्ने आयुर्वेदशास्त्रको वचन अनुसार बहुगुणी वनस्पति गुर्जो रोपण अभियानलाई तीव्रता दिइएको अभियानकर्मी राजलवटले सुनाए। उनले गत वर्ष पनि एक लाख ६० हजार गुर्जोका बिरुवा रोप्नका लागि निःशुल्क वितरण गरेका थिए।
आन्तरिक राजश्व कार्यालय लाहानको कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी आवास क्षेत्रमा बिरुवा उत्पादन गरी उनले देशव्यापी रुपमा निःशुल्क वितरण अभियान चलाएका थिए।
हाल आन्तरिक राजश्व कार्यालय धुलिखेलको प्रमुख भई आएका राजलवटले यो अभियानलाई निरन्तरता दिएका छन्। गुर्जोलगायत वनस्पतिबाट बनेका चिया, धुलोको माग कोरोना बढेका बेला अत्यधिक हुने गरेको छ। शरीरमा रोग प्रतिरोधी क्षमता विकास गरी कोरोना हटाउन यसले मद्दत गरेको अधिकांशत सेवनकर्ताको अनुभव छ। रासस