सम्पत्ति भनेकै घर थियो, त्यो ‘खण्डहर’ भयो

अनलाइनखबर

काठमाडौँ

निर्भिकजंग रायमाझी

 

मेलम्ची बजारकी जमुना गौतमको परिवार शुक्रबार बिहान मेलम्ची नदीमा आएको बाढीले आधा पुरिएको घरको फुटेको झ्याल फोड्दै थिए । काठको भर्‍याङ हालेर दोस्रो तल्लाबाट परिवारका केही सदस्य घरभित्र पस्न थाले । उनीहरूको हातमा कोदालो, बन्चरो र साबेल थियो ।

तीनतलाको घरको तेस्रो तलासम्म बाढीसँगै आएको लेदोले पुरिएकाले उनीहरूले भिजेको खाट र टेबलबाहेक अरू कामलाग्ने सामान निकाल्न सकेनन् । बाढीले घर बस्नै नमिल्ने गरी पूर्ण क्षति भएको छ ।

घरको दोस्रो तला बालुवा र माटोले छोपेको छ भने काठ र ढुंगाको प्रहारले झ्याल–ढोका फुटेका छन् ।

तीन दिनअघिसम्म यो सानो घरको माहोल अर्कै थियो । भुइँतलाका सटर भाडामा दिइएको थियो । दुई तलामा जमुनाको पाँच सदस्यीय परिवार बस्दथ्यो ।

जमुनाको घरसँग अन्य तीन घर लहरै जोडिएका छन् । सबै घरको अवस्था उस्तै छ । दायाँपट्टि अरुण श्रेष्ठ र अर्को छेउका रामेन्द्र श्रेष्ठ तथा रामशरण पुलामीको तीन तलाको घर पूर्ण रुपमा खण्डहर बनेका छन् । ‘हतारमा भाग्दा कागजपत्र र लुगाबाहेक सबै सामान बाढीले बिगारिदिएको छ,’ जमुनाले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘यस्तो बाढी आउँछ भन्ने कल्पनासम्म गरेका थिएनौं ।’

प्रकाशित मिति: : 2021-06-19 17:12:00

प्रतिकृया दिनुहोस्