बिस्थापितलाई पुनःबासको व्यवस्था गर्न माग

File photo
File photo

कास्कीको मादी गाउँपालिकामा केही दिनअघिको बाढी पहिरोमा परी विस्थापित घर परिवारलाई पुनःबासको व्यवस्था गर्न माग गरिएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आज नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गाउँ कमिटीले ध्यानाकर्षणपत्र बुझाउँदै विस्थापितको पुनःबास, पीडितको संरक्षण, उद्धार, राहत वितरण तथा मादी नदी नियन्त्रण गर्न तटबन्धको माग गरेको माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष कृष्णराज दाहालले बताए। 

बाढीबाट मादीमा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत आयोजनामा नोक्सानी पुगेको, विद्युत पोल ढल्दा गाउँहरु बिजुलीबाट वञ्चित रहेको र सडक अवरुद्ध हुँदा सवारी सञ्चालन ठप्प रहेकाले अविलम्ब सडक खुलाउन सरकारको ध्यानाकर्षण गराइएको थियो। 

सो अवसरमा मुख्यमन्त्री नेपालीले तत्काल गर्न सकिने काम तुरुन्त शुरु गर्ने र दीर्घकालीन महत्वका कार्यलाई योजनामा समेटिने बताए। 

नेपाली काँग्रेसका जिल्ला सभापति कृष्ण केसी र माओवादी केन्द्रका जिल्ला सचिव बखानसिँह गुरुङलगायत दुवै दलका जिल्लास्तरका नेताको उपस्थितिमा मुख्यमन्त्री नेपालीलाई ध्यानाकर्षण गराइएको थियो। रासस 

प्रकाशित मिति: : 2021-06-19 21:12:00

प्रतिकृया दिनुहोस्