यहाँको एक खानेपानी आयोजना समयमा सम्पन्न हुन सकेको छैन।
अघिल्लो आर्थिक वर्ष पुसभित्र सम्पन्न गरिसक्नुपर्ने सो आयोजना कोरोनाका कारण समयमा सम्पन्न हुन नसकेको हो। सम्झौता मितिले १८ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने आयोजना तोकिएको समयभन्दा एक वर्षपछि हुने देखिएको छ।
आयोजना २०७६ साल असारमा सम्पन्न गर्ने सम्झौता भएको थियो। एशियाली विकास बैंकको ७०, नगर विकास कोषको २५ प्रतिशत ऋण सहयोग र स्थानीय समुदायको पाँच प्रतिशत लगानीमा सो आयोजना सम्पन्न गर्ने सम्झौता भएको थियो।
जिल्ला सदरमुकाम लिवाङको घना बस्ती रहेको रोल्पा नगरपालिका वडा नं १, २ र ४ का एक हजार ६० घरघुरीलाई लक्षित गरी सो आयोजना सम्पन्न गर्न लागिएको हो। आयोजनाको कूल ठेक्का रकम रु ३१ करोड ५२ लाख ४२ हजार ९४६ रहेको छ।
आयोजनाको हालसम्म ६२ प्रतिशत काम सम्पन्न भएको रोल्पा शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लीलाधर आचार्यले जानकारी दिए।
कोरोना महामारीको विषम परिस्थितिका कारण समयमै काम सम्पन्न गर्न नसकिएको अध्यक्ष आचार्यको भनाइ छ। उनले तोकिएको समयभित्रै उपभोक्तालाई पानी खुवाउने प्रयास गर्दागर्दै कोरोना महामारीको विषम परिस्थितिले सफल हुन नसकेको बताए।
आयोजनाका एक हजार ६० लक्षित घरधुरीमध्ये ८०० घरधुरीको धारा जडान कार्य सम्पन्न भइसकेको छ। वितरण पाइपलाइनको केही काम बाँकी रहेको आयोजनाले जनाएको छ।
आयोजनाले कार्यालय भवन, सार्वजनिक शौचालय, रिजरवायर ट्याङ्की, निर्माण भइसकेको आयोजनाको सुपरभिजन इन्जिनीयर कृष्णबहादुर ऐरले जानकारी दिए। आयोजनामा विद्युत् जडान, मोटर जडान, फिल्टर जडान र स्काडा जडानको काम बाँकी रहेका छ।
आयोजना क्षेत्रभित्र समेटिने विपन्न तथा गरीब घरधुरीलाई निःशुल्क खानेपानी उपलब्ध गराउने कार्यक्रमअन्तर्गत ती घरधुरीमा खानेपानी धारा जडान र शौचालय निर्माणको काम पनि भइरहेको बताइएको छ।
आयोजनाले तोकेका विपन्न घरधुरीको मापदण्डभित्र पर्ने ५८ घरधुरी शौचालय र ९९ घरधुरी पानीधारा जडानका लागि छनोट भएका थिए।
छनोट भएका विपन्नमध्ये ५८ घरधुरीको निःशुल्क शौचालय निर्माणको काम सम्पन्न भइसकेको छ। निःशुल्क धारा जडानका लागि छनोटमा परेका ९९ मध्ये ६५ घरधुरीको काम सम्पन्न भइसकेको उनले जानकारी दिए। रासस