बाख्रा पकेट क्षेत्रका रुपमा विकास गरिँदै

File photo
File photo

तनहुँको बन्दीपुर गाउँपालिका–१ ले बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्न लागिएको छ। 

गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित उक्त वडालाई बाख्रा पकेट क्षेत्रको रुपमा अगाडि बढाइएको हो। यसका लागि वडाले बाख्रापालक कृषकलाई सहयोग गर्दै आइरहेको छ। 

वडाभित्रका १८० बाख्रापालक कृषकलाई वडा कार्यालयले किम्बुको बिरुवा वितरण गरेको छ। चितवनबाट खरीद गरी ल्याइएका १० हजार घाँसका बिरुवा कृषकलाई वितरण गरिएको वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, गाउँपालिका, वडा कार्यालय र कृषकको समेत लागत सहभागितामा बिरुवा वितरण गरिएको उनले बताए। 

गाउँपालिकाले सो वडालाई बाख्रा पकेट विकास कार्यक्रममा छनोट गरेको छ। सोही बमोजिम वडाका ४५ कृषकलाई रु २० हजारका दरले खोर सुधार कार्यक्रमका लागि रकम प्रदान गरिएको छ।

'बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्न बाख्रापालक कृषकलाई प्राविधिक तालीम, घाँसको बिरुवा र खोर सुधारका लागि वडाले सहयोग गर्दै आएको छ' पोख्रेलले भने, 'व्यावसायिक रुपमा बाख्रापालनतर्फ कृषक आकर्षित भइरहेका छन्।' उनका अनुसार किम्बुको घाँस बाख्राका लागि पोसिलो हुने र बाख्रा पनि चाँडै बढ्छ। 

गाउँपालिकाका पशु शाखाका प्राविधिक मधुविलास न्यौपानेले किम्बुको घाँस हुर्काउन सजिलो र बाख्राका लागि उपयुक्त रहेको जानकारी दिए  गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउने तथा किसानलाई आर्यआर्जनमा जोड्ने उद्देश्यले बाख्रा पकेट कार्यक्रम सञ्चालन गरिएको छ। 
 
बाख्रापालक कृषक मदन अधिकारीले वडा कार्यालयले दिएको किम्बु घाँसको बिरुवाले बाख्रापालनका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँले एक सयभन्दा बढी बाख्रापालन गरेका छन्। 

अर्का बाख्रापालक कृषक सविना बानियाँले वडाले उपलब्ध गराएको बिरुवा हुर्काएर धेरैभन्दा धेरै घाँस उत्पादन गर्ने बताए। 

बाख्राको नश्ल सुधार गरी कम्तीमा पाँच वर्षमा वडालाई बोयर तथा स्थानीय खरी जातका बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ। यस वडामा एक हजारको सङ्ख्यामा बाख्रापालन गरिएको छ। 

बाख्रा पकेट कार्यक्रमका लागि गाउँपालिकाले यस वडाका लागि रु १५ लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार यसकार्यक्रममार्फत् घाँसको बीउ, नश्ल सुधार तथा खोर सुधारका कार्यक्रम सञ्चालन हुनेछन्।

सोही वडामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेन्टर र इनोभेसन आयोजनाको लगानीमा भेटेरीनरी अस्पताल निर्माण सम्पन्न भएको छ। 

बन्दीपुर गाउँपालिका–१ नाहालामा रु ९८ लाख ६१ हजार ४४९ को लागतमा छ कोठाको भवन निर्माण सम्पन्न भएको छ। बन्दीपुर गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएकाले पशुको उपचारका लागि भेटेरीनरी अस्पताल अति आवश्यकता थियो। उक्त अस्पतालमा पशु चिकित्सकको दरवन्दीमा कर्मचारी खटिनेछन्। रासस 

प्रकाशित मिति: : 2021-06-21 18:06:00

प्रतिकृया दिनुहोस्