टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई रु २० लाख सहयोग गर्ने भएको छ।
काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाको सोमबार बसेको ७०औँ नगर कार्यपालिकाको बैठकले असार २ गते राति गएको बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्दारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो।
नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्याएको क्षति तथा उद्दारका लागि टोखाले कार्यपालिकाको बैठकमार्फत रु २० लाख राहतको घोषणा गरेको राससलाई जानकारी दिए।
'मेलम्ची नै काठमाडौँ उपत्यकाको पानीको प्रमुख स्रोत भएको र सो स्थानमा विपद् पर्दा नगरपालिकाले थोरै भए पनि सहयोग गर्ने उदेश्यले उक्त राहत प्याकेज घोषणा गरेका हौँ' उनले भने।
टोखाले घोषणा गरेको राहत प्याकेजमध्ये हेलम्बु गाउँपालिकालाई रु १० लाख र मेलम्ची नगरपालिकालाई रु १० लाख रहेको छ।
बुधबार राति आएको बाढीले मेलम्ची बजार डुवानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएको थियो। यस्तै, टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम भोलि (बुधबार) नगरसभामा पेश गर्ने कार्यक्रम रहेको छ। रासस