जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएका समयमा बाघको आक्रमणबाट सोमबार एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका –५ मगरटोलका ३२ वर्षीया गीता अधिकारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घर नजिकै रहेको सो वन क्षेत्रमा निउरो टिप्न गएको बेला बाघले आक्रमण गर्दा अधिकारीको मृत्यु भएको हो।
मृतक अधिकारीको शव समयमा जङ्गलबाट निकाल्न माग गर्दै स्थानीयले प्रदर्शन समेत गरेका थिए। साथै स्थानीयले निकुञ्जको सौराह सेक्टर कार्यालयमा तोडफोड र आगजनी गर्दा केही समय सो क्षेत्र तनाबग्रस्त बनेको थियो।
आज अपराह्न चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोषका कर्मचारीले बाघलाई ‘डट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। यस आर्थिक वर्षमा मात्र जिल्लामा चार जनाको बाघको आक्रमणबाट अकालमा मृत्यु भइसकेको छ। रासस