प्रेस सङ्गठनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

Symbolic photo
Symbolic photo

प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले जिल्लामा क्रियाशील पत्रकार/सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। 

कोरोना महामारीका बेला अग्रपङ्क्तिमा खटिएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क, सेनिटाइजर र सिटामोल वितरण गरिएको हो।

शाखा संयोजक थम्मन थापा, सदस्य विमल खड्का र नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका उपाध्यक्ष एवं सङ्गठनका सदस्य सरीता खत्रीले गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाबाट सञ्चालित सञ्चार संस्थामै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन्।

पाँच रेडियो, एक साप्ताहिक पत्रिका र तीन वटा अनलाइन माध्यममा कार्यरत पत्रकार/सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको संयोजक थापाले जानकारी दिए। उनका अनुसार स्वतन्त्र ढङ्गले कलम चलाइरहेका पत्रकारलाई समेत स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ। 

रेडियोलाई पाँच÷पाँच प्याकेट मास्क, पाँच वटाका दरले सेनिटाइजर र सिटामोल, अनलाइनलाई दुई प्याकेटका दरले मास्क, सेनिटाइजरलगायत प्रदान गरिएको हो। 

“सङ्कटका बेला पत्रकारप्रति सङ्गठनले दर्शाएको सानो सद्भाव हो यो, चरणबद्ध रूपमा जिल्लाका सबै पत्रकारलाई स्वास्थ्य सामग्री बाँड्छौँ”, संयाजक थापाले भन्नुभयो । 

सदरमुकामसहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा क्रियशील पत्रकारलाई एक÷दुई दिन भित्रैमा स्वास्थ्य सामग्री वितरण गरिने सङ्गठनले जनाएको छ। 

जिल्लाभरमा गरी रु ५० हजार बराबरको स्वास्थ्य सामग्री प्रदान गर्न लागिएको सङ्गठनका सचिव अनिष खातीले बताए। सङ्गठनमा आबद्ध पदाधिकारी/सदस्य तथा शुभेच्छुकहरुबाट सङ्कलित सहयोग रकमबाट स्वास्थ्य सामग्रीको जोहो गरिएको उनको भनाइ छ। 

यसअघि सङ्गठनले पत्रकारको सुरक्षा र कोरोना सङ्क्रमित पत्रकारलाई सहयोग गर्ने उद्देश्यसहित ‘सहायता कक्ष’ पनि निर्माण गरेको थियो। 

उक्त कक्षमार्फत् सङ्क्रमित पत्रकारको उपचार र अन्य सहायताका लागि आवश्यक समन्वय गर्ने काम भइरहेको जनाइएको छ। 

सङ्गठनले संस्थागत विकास कोष, पुरस्कार कोष स्थापनासहित पत्रकारका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि कार्ययोजना बनाएर काम थालिएको जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-24 12:01:00

प्रतिकृया दिनुहोस्