बाढी आउँछ, नेताहरू हेर्न पनि आउँछन् तर नदी व्यवस्थापनका लागि बोरा किन्ने पैसा पनि हुँदैन

सेतोपाटी

काठमाडौँ

ठूलो मानवीय क्षति नभए पनि नारायणी नदीले चितवन र नवलपरासी क्षेत्रमा वर्षेनी असर पुर्‍याउने गरेको छ। वर्षायाममा आउने बाढीले वरपरका जमिन कटान गर्नुका साथै नजिकका बस्ती डुवानमा पार्ने गरेको छ। 

यस वर्ष असारको पहिले दिन नारायणी नदीमा ठूलो बाढी आयो। त्यसदिन १० मिटर भन्दा बढी उचाईसम्म पानीको बहाव देखिएको थियो। जसलाई नारायणीमा अहिलेसम्मकै सबैभन्दा बढी पानी बगेको भनिएको छ। यो बाढीका कारण भरतपुर महानगरपालिकाका ३, १६, २६, २७ र २८ का गरी २४७ जनालाई उद्धार गर्नुपरेको जिल्ला प्रशासन कार्यालय बताउँछ। बेलैमा तटबन्धनगरी व्यवस्थित गर्न नसकिए नदीले चितवनका २९ हजार घरधुरी र ८६ हजार जनसंख्यालाई प्रत्यक्ष असर पार्ने आँकलन गरिएको छ।

नारायणी नदीले पार्नसक्ने जोखिमको विषयमा सम्बन्धित निकायहरु जनाकार नभएका पनि होइनन्। नदी नियन्त्रणकै लागि भनेर नारायणी नदी व्यवस्थापन आयोजना नै सञ्चालनमा छ। पूर्वप्रधानमन्त्री, मूख्यमन्त्री देखि लिएर उच्च तहका कर्मचारीहरु हरेक वर्ष बाढी आएको समयमा अवलोकनका लागि भन्दै नदीको तीर तिर पुग्ने गर्छन्। आसपासका स्थानीयलाई अर्को वर्षसम्ममा समस्या समाधान हुने आश्वासन दिएर फर्कन्छन्। कैयौं नेताले यहीँको तटबन्धनलाई मुद्दामा राखेर चुनाव जिते। तर समस्या जहाँको त्यहीँ छ।

प्रकाशित मिति: : 2021-06-24 13:20:00

प्रतिकृया दिनुहोस्