राष्ट्रिय स्वाभिमानको पुनर्जागरण : यसरी गर्न सकिन्छ फोहोरी राजनीतिको अन्त्य !

लोकान्तर

डा. युवराज संग्रौला

बर्तमान अवस्थाको यथार्थ पृष्ठभूमि

निरंकुश पञ्चायती व्यवस्थालाई विस्थापित गरी बहुदलीय व्यवस्थाको पुन:स्थापना गर्ने २०४६ सालको जनआन्दोलनद्वारा आम नेपाली जनताले आफ्नो समृद्धि निर्माण र राष्ट्रिय स्वतन्त्रताको उत्थानको आकांक्षा राखेका थिए। तर २०४७ सालको संविधान कार्यान्वयन जनताको आकांक्षाअनुसार भएन।

राजनीतिक दलहरूका बीचमा तीव्र एवं गहिरो मतान्तर, सत्ता आकांक्षा र निहित स्वार्थ, अवाञ्छित तथा अनैतिक प्रतिस्पर्धा र भ्रष्टाचारको प्रवृत्तिहरू घनीभूत भए। विदेशी शक्तिका स्वार्थले राष्ट्रिय राजनीति प्रभावित हुन गयो र आर्थिक विकास र सामाजिक रुपान्तरणका कार्यक्रमहरूमा विदेशी दातृ संस्था, अन्तर्राष्ट्रिय वित्तिय संस्था तथा विदेशी गैरसरकारी संस्थाको अनुचित प्रभाव र दखल मात्र होइन नियन्त्रणको अवस्था कायम भयो। खुला बजारतन्त्रका नाममा विकृत नव-उदारवादहरूलाई अन्धाधुन्ध ढंगले लागू गरियो।

संवत् २०५८/५९ सम्म आइपुग्दा २०४६ सालको जनआन्दोलनबाट सिर्जना भएको राष्ट्रिय परिवर्तन र जनसमृद्धिका सपनाहरू ध्वस्त भए। त्यसताका देशको नेतृत्व गर्ने नेताहरू तिनै थिए जो आज पनि नेतृत्वमा छन्। त्यसबेला नेपालमा थोरबहुत हुर्किएको औद्योगीकरण, कृषिको आधुनिकीकरण र विकास संरचना निर्माणलाई ध्वस्त पार्दै कथित नवउदारवादले राज्यको संरक्षणमा सञ्चालित आधारभूत उद्योग तथा प्रतिष्ठानहरू ध्वस्त पार्‍यो।

यही नवउदारवादको झण्डा अन्तर्गत प्राथमिक तहदेखि उच्च शिक्षा तहसम्म शिक्षालाई व्यापारीकरण गरी शिक्षालाई राष्ट्रिय विकासको अभिन्न अंगका रूपमा रही औद्योगीकरण, कृषि आधुनिकीकरण र विकास संरचना निर्माणमा आवश्यक पर्ने दक्ष र सक्षम जनशक्ति उत्पादन गर्ने संयन्त्र बन्नबाट बर्खास्त गरी विदेशी नकल गर्ने, पराई संस्कृति रोपण गर्ने र जनशक्ति पलायन गर्ने माध्यमका रूपमा स्थापित गरियो। विदेश नीतिमा दक्षिणी छिमेकीको हैकम कायम गर्दै महाकाली सन्धिजस्तो राष्ट्रहितविरोधी सन्धीमा सहीछाप गर्ने कार्य गरियो।

समग्रमा राष्ट्रको विदेश नीति, सुरक्षा नीति, लोककल्याणकारी राज्य व्यवस्था प्रबर्द्धन गर्ने आर्थिक नीति र विचारधारा, राजनीतिक अनुशासन तथा नैतिक मूल्यमान्यतालाई बर्खास्त गर्दै सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक अराजकताको निर्माण गरी २०४६ को जन आन्दोलनबाट स्थापित उदारपन्थी लोकतन्त्रको विसर्जनको वातावरण तयार पार्ने काम राजनीतिक दलका अकर्मण्यता, दृष्टिहीनता, विचारहीनता र सत्ता महत्त्वकांक्षाद्वारा प्रेरित अवान्छित गतिविधिबाट भयो।

त्यस किसिमको अवान्छित राजनीतिक संकटबाट राष्ट्रिय राजनीतिमा दक्षिणपन्थी पुनरुत्थान र वामपन्थी अवसरवादका वृक्षहरू एकैचोटि पलाए। एकातर्फ राजा वीरेन्द्रको सकल परिवारको हत्या भई राजा ज्ञानेन्द्रको उत्तराधिकारित्व निर्माण हुँदै राष्ट्र संकटकालको भूमरीमा प्रवेश भयो र भीडन्तका घटनाहरूको श्रृंखला निर्माण गर्दै राष्ट्रिय राजनीति एउटा अनिश्चित भविष्यतर्फ मोडियो।

प्रकाशित मिति: : 2021-06-27 10:36:00

प्रतिकृया दिनुहोस्