कृष्णगोपालको 'माइकालाल दर्शन'

सेतोपाटी

काठमाडाैं

नेकपा एमाले नेतासमेत रहेका कृष्णगोपाल श्रेष्ठ तिनै शिक्षा मन्त्री हुन्, जसले केही समयअघि एउटा विश्वविद्यालयका विद्यार्थीहरूलाई दीक्षान्त समारोहमा  बेतुकको 'माइकालाल दर्शन' को भारी बोकाएका थिए।

सामान्यत: कुनै विश्वविद्यालयका विद्यार्थीलाई स्नातक, स्नातकोत्तर वा विद्यावारिधिको उपाधि दिने बेला यस्ता विशिष्ट समारोह आयोजना गरिन्छन्। जहाँ विशिष्ट व्यक्तित्वद्वारा ज्ञान, विज्ञान र दर्शनको आलोकमा वौद्धिक, प्राज्ञिक र जीवनपयोगी दीक्षा दिने प्रचलन छ।

त्यो विशिष्ट कार्यक्रममा मन्त्री श्रेष्ठ एकहोरो रूपमा यसरी उफ्रिए कि त्यो सुन्दा सायदै कोही चकित् नपरोस्।  उनले दीक्षान्त समारोहका अत्यन्तै आक्रोशित मुद्रामा 'केपी ओलीलाई हटाउने कोही माइकालाल छ?' भनेर पटक-पटक दोहोर्‍याउँदा गाउन लगाएर दीक्षित हुन बसेका विद्यार्थी आश्चर्यचकितमात्र हैन आतंकित नै भएका थिए।

सामाजिक सञ्जालमा भाइरल भएको मन्त्री श्रेष्ठको उक्त भिडिओ हेर्दा सामान्यत: प्राविधिक शिक्षा पढेका निजी कलेजका ती विद्यार्थी निकै भयभित र त्रसित देखिन्थे। उनको हाउभाउ हेर्दा यस्तो लाग्थ्यो 'मानौं ती विद्यार्थी नै माइकालाल हुन् जो केपी ओलीलाई हटाउन खोज्दैछन्।'

देशको शिक्षा मन्त्री र दीक्षान्त समारोहका प्रमुख अतिथिको रूपमा सम्बोधन गर्न आएका मन्त्री त्यत्तिमा मात्र रोकिएन्। श्रेष्ठले 'केपी ओली इज केपी ओली, केपी ओली फुटबलको पेले हो' भन्दै उफ्रिरहेका थिए। पार्टीभित्र र बाहिरका विपक्षीहरूले ओलीलाई हटाउन खोजेको आक्रोश ती अवोध, असम्बन्धित विद्यार्थीमाथि पोखेर श्रेष्ठले दुनियाँ हँसाएका मात्रै थिएनन्, देशको बेइज्जतिसमेत गरेका थिए। ती विद्यार्थीले न त केपी ओलीको काँध थापेका थिए, न त उनलाई हटाउन कुनै भूमिका नै खेलेका थिए। यसरी अत्यन्तै अप्रासंगिक र असान्दर्भिक रूपमा दीक्षान्त समारोहमा व्यक्त उनका विचारलाई कतिपयले 'माइकालाल दर्शन' भनेर टिप्पणी गरेका थिए।

प्रकाशित मिति: : 2021-06-27 12:02:00

प्रतिकृया दिनुहोस्