काठमाडौं बाहिर पनि छ नेपाल!

सेतोपाटी

काठमाडाैं

'ओलीले केही गरे नि छाड्दैनन्। दिनै परे कि त राजालाई दिन्छन्, कि त सैनिक शासन लाउँछन्।'

'बच्चा बेला टाउकोमा सर्पले बेरेर नि बाँचेको मान्छे रे। ठूलै खड्गो काटेका छन्। ओलीलाई सितिमिती कसैले हल्लाउन सक्दैनन्। उनको ग्रह बलियो छ।'

उदयपुर जिल्लाको कटारी नगरपालिकामा छु। केपी ओलीले संसदमा विश्वासको मत नपाएको साँझ एउटा घरको आँगनमा केही मानिसहरू ओलीको चालबारे अड्कलबाजी गर्दै अनेकन किस्सा सुनाउँदै थिए। तीन ठूला दलहरूबारे सबै विरक्त थिए।

आजीवन नेपाली कांग्रेसको सदस्य रहेका एक वृद्ध भन्दै थिए, 'देउवाले कांग्रेस नि सिध्याए। बिपी, गणेशमानहरूले हुर्काएको कांग्रेस यत्तिकै मासिएर जाने भयो।'

'प्रचन्डलाई हजारौंको ज्यान लिएको श्राप लागेको छ। इमानमा अडिएको भए त्यो श्रापलाई जित्न सक्थे। आफ्नो मति भ्रष्ट बनाएर हजारौंको सपना कुल्चिए,' अर्का एक अधवैंसे सुनाउँदै थिए।

वैशाख महिना आफैं तातो थियो। त्यसमाथि काठमाडौंको राजनीतिक प्रहसनले गाउँगाउँमा झनै गर्मी बढाएको थियो। देश राजनीतिक खिचातानी र कोभिडको महामारीसँग जुधिरहँदा गाउँका मेरा छिमेकी र आफन्तहरूका आफ्नै समाचार र पीडाहरू थिए।

खडेरी परेर भर्खर रोपेको मकै र हिउँदे धान ओइलाएको थियो। गोडमेल गरेको मकैको बोटलाई अमेरिकी फौजी कीराले सोत्तर बनाएको थियो। रासायनिक विषादी लगाउँदा खडेरीमा बोटै मर्छ। तर पनि केहीले खतरा मोलेर विषादी छर्किए। अरूले सूर्तिको झोल बनाएर बोटभरि छर्किए।

प्रकाशित मिति: : 2021-06-28 10:33:00

प्रतिकृया दिनुहोस्