मेचीनगर नगरपालिका वडा नं. ९ निवासी प्रगतिशील साहित्यकार तेजराज खतिवडा (तेराख)को आज ७८ वर्षको उमेरमा निधन भएको छ।
श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि उनलाई विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो।
उपचारको क्रममै उनको आज अपरान्ह निधन भएको पारिवारिक स्रोतले जनाएको छ। नेपाली साहित्यमा प्रगतिशील स्रष्टाको रुपमा परिचित उनको ‘सर्वजा’ सबैभन्दा प्रख्यात उपन्यास हो।
टेस्ट ट्युब बेबी (नाटक), रातको बाह्र बजे (उपन्यास), प्रीय शान्तिनगर (खण्डकाब्य), ढाडेका नाकमा घिउ (निबन्ध) लगायत दर्जनभन्दा बढी उनका कृति प्रकाशित छन् । उनले मय विधाको प्रस्तावना लेखेका थिए।
तत्कालीन शान्तिनगर–४ इरौँटारमा २००१ साल वैशाख १ गते जन्मिएका उनी हाल मेचीनगर–९ धुलावाबारीमा बसोबास गर्थे । उनको निधनले साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकार पुण्यप्रसाद खरेलले बताए।
उनी झापाको वामपन्थी तथा शिक्षक आन्दोलनमा सक्रिय पुराना नेता पनि थिए। धुलावारी माध्यमिक विद्यालयमा शिक्षक रही उनी निवृत्त भएका थिए ।रासस