दलित भएकै कारण कोठा भाडामा नदिएको आरोप लागेकी सरस्वती प्रधानले आफूले छुवाछूत तथा विभेदकारी व्यवहार नगरे पनि षड्यन्त्रपूर्ण तरिकाले फसाइएको भन्दै रूपा सुनारलाई कारबाहीको माग गरेकी छन्।
प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार निवेदन दिँदै सञ्चारकर्मी सुनारमाथि आफूले कुनै प्रकारको जातजातिसम्बन्धी विभेदको व्यवहार नगरेता पनि आफूमाथि षड्यन्त्र गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएकी हुन्।
प्रधानले सुनारलगायत कोठा खोज्न सहयोग गर्ने उनका साथीहरु सुष्मा राई र सिर्जना राईलाई समेत कारबाही गर्नुपर्ने माग गरेकी छन्।
‘नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको आदेश उल्लंघन गरी र बिना पीसीआर रिपोर्ट खुलेआम आवत जावत गरी महामारी फैलाउने मानव विरोधी अपराध गरेको हो। रुपा सुनारलाई कोठा आवश्यकता नै नरहेको भएपनि आपराधिक कार्य गर्नका लागि कोठा खोज्न आएको बाहाना बाजी बनाइ मेरो मञ्जुरबेगर मेरो फोन रेकर्ड गरी सोही रेकर्ड, प्रमाण सिर्जना गरी मेरो विरुद्ध छुवाछुतको उजुरी दिई गैरकानुनी एवम् मेरो व्यक्तिगत जीवनको स्वतन्त्रता विपरित हुने गरी पूर्वाग्रहीपूर्वक थुनाएको’ उनको उजुरीमा भनिएको छ।
घरधनी श्रीमान र सासु भएको भन्दै उनले आफूलाई घर भाडामा लगाउने अधिकार नभएको समेत बताएकी छन्। आफूलाई घरधनी भनि जालसाजी गरी मानव अधिकार हनन् गरिएको उनको आरोप छ।
यसअघि रूपा सुनारले प्रधानले आफूमाथि जातीय विभेद गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। सोही आधारमा उनलाई प्रहरीले पक्राउ गरको थियो।