निषेधाज्ञाका कारण रोजगार गुमाएका विपन्न वर्गलाई लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए १ ले राहत वितरण गरेको छ।
काठमाडौँ महानगरपालिका वडा नं. ८ जयवागेश्वरी क्षेत्रमा बसोवास गर्ने ३० विपन्न परिवारलाई चामल एक/एक बोरा, दाल, नुन, तेललगायत अत्यावश्यक सामग्री वितरण गरिएको क्लबका ‘जोन चेयरपर्सन’ तिलककुमार श्रेष्ठले जानकारी दिए।
वडा कार्यालयको सिफारिसमा त्यस क्षेत्रमा बसोवास गर्ने विपन्न वर्गलाई राहत दिइएको हो । राहत सामग्री नेपाल हेल्प संस्थाको सहयोगमा प्राप्त भएको उनले बताए।
लायन्स क्लबको नयाँ आर्थिक वर्ष शुरु भएका अवसरमा प्रत्येक वर्ष जुलाई १ देखि ७ तारिखसम्म गरिने साप्ताहिक कार्यक्रम अन्तर्गत विपन्न वर्गलाई राहत वितरण गरिएको हो।
यसै अवसरमा आज बिहान गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा वृक्षरोपण समेत गरिएको छ ।कार्यक्रममा तेजपत्ता, कपूर, धूपी, अमलालगायत जातका १०० बिरुवा रोपिएको थियो।
यसै अवसरमा शुक्रबार चोभारमा पनि वृक्षरोपणको कार्यक्रम राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। यस अवसरमा असार २३ गते बौद्धमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको छ। रासस