दुर्गा मल्लकाे बलिदानले गर्वका साथ बाँचेका गाेर्खालीहरू

आज 'आजाद हिन्द फौज'का प्रथम गोर्खा सैनिक मेजर दुर्गा मल्लको जन्म जयन्ती हो।

उनले भारतको स्वतन्त्रता संग्रामका लागि प्राणको आहुति दिए। उनकाे जन्म १ जुलाई, १९१३ का दिन भारतको देहरादुनमा भएको थियाे। उनी पिता गंगाराम मल्ल र आमा पार्वती देवीका सन्तान हुन्। बाल्यकालदेखि नै अविच्छिन प्रतिभाका धनी दुर्गा सधैँ गोर्खा समाज र भारतको पराधीनताका लागि चिन्तित हुन्थे। 

उनी सानैदेखि अन्य साथीहरुभन्दा फरक स्वभावका थिए। उनले प्रारम्भिक शिक्षा गोर्खा मिलिटरी मिडिल स्कुलबाट पुरा गरे। 

उनले १८ वर्षको उमेरमा धर्मशालाको स्थानीय गोर्खा पल्टन २/१ बटालियनमा भर्ती भएका थिए। तेज बुद्धि भएका दुर्गालाई पल्टनले संकेत प्रशिक्षण (सिगनल ट्रेनिङ) का लागि महाराष्ट्रसमेत पठाएकाे थियाे। दश वर्ष पल्टनमा सेवारत भएपछि उनले ठकुरी परिवारकी शारदा देवीसँग विवाह गरे। 

द्वितीय विश्व युद्धमा भारतका स्थानीय फौजले अंग्रेजको पक्षमा युद्ध गर्नुपर्ने थियो। जसकाे कारण सन् १९४१ मा दुर्गा सिंगापुर गए, जतिबेला जापानले युद्ध घोषणा गरिसकेकाे थियाे। युद्धमा जापानले गोराे वर्गका सैनिक र भारतीय सैनिकलाई बन्दी बनायाे।

यही वर्ष भारतको स्वतन्त्रताकाे लागि विदेश भ्रमणमा निस्केका नेता सुभाष चन्द्रबोसको नेतृत्व र जापानी शासकको सहयोगमा 'स्वतन्त्र हिन्द फौज'को निर्माण भएकाे थियाे। 

चन्द्रबोसले युद्धमा बन्दी भएका भारतीय सैनिकलाई 'आजाद हिन्द फौज'मा समावेश गराए। 'आजाद हिन्द फौज'को गठनमा दुर्गाले पनि महत्वपूर्ण र ठुलो भूमिका निभाए। भारतको स्वतन्त्रता लागि अभिलाषी दुर्गाले गोर्खा सैनिकलाई पनि सहभागी हुन प्रेरित गरेका थिए। 

उनको प्रतिभा, बहादुरी एवं कार्यशैली देखेर चन्द्रबोसले दुर्गालाई 'मेजर'को पदमा बढुवा गरेका थिए। साथै उनलाई गुप्तचर विभागमा समेत नियुक्त गराए। पछि चन्द्रबोसले दुर्गालाई स्वतन्त्रता आन्दोलनको विशेष जिम्मेवारी दिँदै भारत-बर्मा सीमामा गुप्तचर विभागको कार्यमा खटाएका थिए।

२७ मार्च १९४४ मा सुचना संकलन गरेकै आराेपमा दुर्गालाई अंग्रेजले मणिपुरको उखरुल क्षेत्रमा बन्दी बनाएकाे थियाे। उनलाई बन्दी बनाएर केही दिनसम्म यातनासमेत दिइएकाे थियाे। त्यतिबेला दुर्गाले  राष्ट्रका लागि सबै यातना सहे। १५ अगस्ट १९४४ मा दुर्गालाई दिल्लीकाे केन्द्रीय कारागारमा पु-याइएकाे थियाे। उनीविरुद्ध  लामाे समयसम्म सैनिक अदालतमा मुद्दा चल्याे र मुलतः अदालतले उनलाई फाँसीको सजाय सुनायाे। 

२५ अगस्ट १९४४ मा उनलाई फाँसीमा चढाइयाे। उनकाे शरीरले याे संसार छाडेर गए पनि उनकाे याेगदानले उनी जनतामाझ अमर बने। मेजर दुर्गाले दिएकाे योगदान एवं देशका लागि दिएकाे बलिदानले आज हामी गर्वका साथ बाँचेका छाैं। आज उनको जन्म जयन्तीमा श्रद्धा सुमन अर्पण...

प्रकाशित मिति: : 2021-07-01 19:45:00

प्रतिकृया दिनुहोस्