विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ३४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तीमध्ये १ सय ९६ वटा गाडी र ३ सय ३८ वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १० जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६० हजार ६ सय ३७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।
कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ३० जनालाई कोभिड(१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ३ हजार रुपैयाँ जरिवाना गरिएको छ।
सो क्रममा २ सय २२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ। साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ३७ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत २ हजार ६ सय ८० जनालाई सचेत गराइएको छ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ।