महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले संस्थाका सदस्यहरूको मानसिक एवं शारीरिक स्फूर्तिका लागि आयोजना गरेको १५ दिने योग शिविर समापन भएको छ।
पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायी महिलाको संस्था ओटेफले कोरोना महामारीका कारण व्यवसाय ठप्प हुँदा यसबाट सिर्जित हुन सक्ने मानसिक तनावसँगै स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर योग शिविरको आयोजना गरेको संस्थाका अध्यक्ष पार्वती पाण्डेले जानकारी दिए।
स्वस्थ जीवनका लागि योगको महत्व निकै रहे पनि व्यवहारिक अभ्यास हुन नसकेको जनाउँदै कोरोना महामारीको समयमा योगको महत्वलाई उजागार गरेको बताए।
उनका अनुसार हरेक दिन बिहान ५ः३० देखि ७ बजेसम्मको समयमा भर्चुअल माध्यमबाट योग गुरु दुर्गादेवी सुवेदीले योग साधनाको अभ्यास गराएका थिए। योग गुरु सुवेदीले व्यवसायको क्षेत्रमा सक्रिय महिलाले योग साधनाको महत्व बुझेर शिविर सञ्चालन गर्नु निकै सकारात्मक भएको बताए।
समापन कार्यक्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भटटराईले कोरोना महामारीबाट सिर्जित अवस्थाले धेरै पर्यटन व्यवसायीलाई मानसिक तनाव निम्त्याइरहेको बताउँदै यसको व्यवस्थापन गर्न योग साधनाको आवश्यकता औँल्याए। नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने योगाभ्यासले शारीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलनमा ल्याउन सहयोग पुर्याउने बताए। रासस