जग्गा नापी प्रक्रिया शुरु

File photo
File photo

पुस्तौँदेखि जोतभोग र भोगचलन गर्दै आएका बर्दिबास नगरपालिका क्षेत्रभित्रका बसोबासीलाई जग्गा उपलब्ध गराउन बर्दिबास नगरपालिका क्षेत्रमा नापी पक्रिया शुरु भएको छ। 

महोत्तरी जिल्लाको सबैभन्दा बढी भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास भएको नगरपालिका क्षेत्रभित्रका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई एक पटकका लागि घर, घडेरी र खेतीपातीका लागि जग्गा उपलब्ध गराउनका लागि नगरपालिकाले नगरक्षेत्रमा नापी प्रक्रिया अगाडि बढाएको नगर प्रमुख विदुरकुमार कार्कीले बताए। 

नगरपालिकाले पनि आयोगको समन्वयमा आफ्ना १४ वटै वडामा  सुकुम्बासी तथा अव्यवस्थित बसोबासी पहिचान गर्नका लागि जग्गा नापजाँच प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाएको नगर प्रमुख कार्कीले थपे। 
     
विसं २०७७ मङ्सिर २४ गते भूमिसम्बन्धी समस्या सावधान आयोग र नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर साकिएलगत्तै नगरपालिकाभित्रका भूमिसमबन्धी आधारभूत स्थितिको अध्ययन भएको थियो। 

३५ दिनभित्र लगत सङ्कलन सकेर सम्पूर्ण तथ्याङ्क पठाइसक्ने सम्झौता अनुसार त्यो भन्दा अगावै सम्र्पूण लगत सङ्कलनको कार्य सकी सम्बन्धित कार्यलयमा पठाइसकिएको र असोज मसान्तभित्र सम्पूर्ण प्रमाणीकरण सकी धनिपुर्जा जनताको हातहातमा वितरण गर्ने लक्ष्य रहेको जनाइएको छ। 

नगरस्तरीय सहजीकरण समिति र वडास्तरीय सहजीकरण समिति गठन गरी कोरोना महामारीको बीचमा भएको निषेधाज्ञामासमेत दूरी कायम गरी नगरपालिकाले नापी प्रक्रियालाई निरन्तरता दिँदै आएको छ। लगत सङ्कलन र प्रमाणीकरणको कार्य पूरा भई नापी कार्यले तीव्रता पाएपछि स्थानीयवासी खुशी देखिएका छन्। 

नगरपालिकाभरिका जनप्रतिनिधिले चुनावी अभियानमा पनि अव्यवस्थित बसोबास र वर्षौदेखि उपभोग गर्दै आएका सर्वसाधारणलाई धनिपुर्जा दिलाएर नै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए। नगरपालिकाले विवरण सङ्कलनका लागि ३० वटा गणकलाई खटाएको छ भने अहिले वडा न ६ को सम्र्पूण नापजाँच कार्य सम्पन्न भइसकेको छ। 

त्यस्तै वडा न १, ३, ४, ५ र ११ मा एकैसाथ नापी कार्य र जिआइएस म्यापमा प्रविष्ट गर्ने कार्य भइरहेको छ। जनप्रतिनिधि स्वयम् जग्गा नापीमा संग्लन प्राविधिकलाई बीचबीचमा देखिने विवाद समाधान र सहजीकरणको लागि सँगै खटिरहेका छन्।

बर्दिबास नगरपालकाभित्र अहिले नौ हजार ४५९ फारमबाट विवरण समावेश भएको छ भने दुई हजार ५६८ कित्ता नापजाँच सम्पन्न भइसकेको छ। उक्त तथ्याङ्कलाई कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ। रासस 

प्रकाशित मिति: : 2021-07-05 15:36:00

प्रतिकृया दिनुहोस्