भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीमा मदिरा सेवनपछि भएको कुटपिटमा एक जनाको मृत्यु भएको छ। कुटपिटपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा ३२ वर्षीय गणेश बोहराको आज मृत्यु भएको हो।
स्थानीय बासिन्दाका अनुसार बोहरा र प्रकाश पालबीच आइतबार राति मदिरा सेवनपछि भएको विवादमा कुटपिट भएको थियो। मदिरा सेवनपछि एकआपसमा कुटपिट भएको भीमदत्त–९ का वडाध्यक्ष राम नाथले बताए।
मृतकका परिवारले बोहराको हत्या भएको भन्दै अनुसन्धानको माग राखेका छन्। मृत्युपछि आरोपित पालसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए। बोहराको शव महाकाली अस्पतालमा राखिएको छ। रासस